• १२ असोज २०८१, शनिबार

अछाम सिडिओको कार्यसम्पादन ७४ औँ नम्बरमा, धनुषा ७७ नम्बरमा

blog

शिवराज ढुंगाना 

अछाम, साउन २४ गते । कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय, अछाम ७४ औँ नम्बरमा परेको छ । गृह मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०-८१ मा कार्यालयको कार्यसम्पादन मूल्याङ्कनमा ८० दशमलव १८७५ नम्बर प्राप्त गरेको छ । ७७ जिल्ला मध्येमा जिल्ला प्रशासन कार्यालय अछाम अन्तिमबाट चौथो स्थान र सुदूरपश्चिम प्रदेशका ९ जिल्ला मध्ये अन्तिम स्थानमा रहेको छ । अछाम जिल्ला प्रशासन पछाडि ७५ औँ स्थानमा जिल्ला प्रशासन कार्यालय दैलेख, ७६ आै मा उदयपुर र ७७ औँ स्थानमा धनुषा जिल्ला प्रशासन कार्यालय रहेको छ । 

गएको आर्थिक वर्षमा तीन-तीन महिनाको कार्यसम्पादन मूल्याङ्कन समेत जोडेर अन्तिममा वार्षिक मूल्याङ्कन सार्वजनिक गरिएको छ । पहिलो त्रैमासिकमा १९ दशमलव ५ नम्बर, दाेस्राेमा १५.१२५ नम्बर, तेस्रोमा १६ दशमलव ०६२५ नम्बर र चौथो त्रैमासिकमा २९ दशमलव ५ नम्बर प्राप्त गरेको थियो । 

एक आर्थिक वर्षभित्र सम्पन्न गरिने कामको सूचक बनाएर कार्यसम्पादन मूल्याङ्कन गर्ने गरिन्छ । त्यसका लागि आर्थिक वर्षको शुरुवातमा प्रमुख जिल्ला अधिकारीसँग कार्यसम्पादनको सम्झौता हुने बताइन्छ । प्रशासन कार्यालय अछामको रेकर्ड अनुसार गएको आर्थिक वर्षमा अछाममा २०८० साउन ३० सम्म शिवराम न्यौपाने प्रमुख जिल्ला अधिकारी हुनुहुन्थ्यो । त्यसपछि २०८० साउन ३१ बाट हाजिर भएर २०८१ वैशाख २३ गतेसम्म शरद कुमार पोखरेल प्रमुख जिल्ला अधिकारी रहनुभएको थियो । वैशाख २४ गतेदेखि हालसम्म शिव प्रसाद लम्साल प्रमुख जिल्ला अधिकारी हुनुहुन्छ । 

कार्यसम्पादनको रुपन्देही जिल्ला प्रशासन कार्यालय पहिलो, पाल्पा दोस्रो, बागलुङ तेस्रो पश्चिम रुकुम चौथो र मकवानपुर जिल्ला प्रशासन कार्यालय पाँचौँ भएका छन् । कार्यसम्पादनको अन्तिम स्थान (७७ औँ) मा जिल्ला प्रशासन कार्यालय धनुषा परेको छ ।