• १२ असोज २०८१, शनिबार

निर्माण सम्पन्न अस्पताल दुई वर्षदेखि अलपत्र

blog

राधा नेपाली 

सन्धिखर्क, साउन २४ गते  । अर्खाखाँचीको भूमिकास्थान नगरपालिका–७, चिदीचौरमा निर्माण भएको १५ शय्याको आधारभूत अस्पताल दुई वर्षदेखि अलपत्र परेको छ । नगरपालिकाले सञ्चालन गर्न नसकेपछि केन्द्र सरकारको १२ करोड रुपियाँ लागतमा बनेको अस्पतालको भवन अलपत्र परेको हो । न्यूनतम वार्षिक खर्च जोहो गर्न नसक्दा अस्पताल सञ्चालन गर्न नसकिएको नगरपालिकाले जनाएको छ ।  

१५ शय्याको अस्पताल नगरपालिकाको स्रोतले सञ्चालन गर्न नसकिने नगरप्रमुख झविलाल थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्घीय सरकारको सहयोगमा भवन निर्माण भयो तर स्थानीय तहले थेग्न सक्दैन । विषय विशेषज्ञ डाक्टरसहितको जनशक्ति, तोकिएको प्रयोगशालालगायतका सेवा दिने गरी स्थानीय तहले थेग्नै सक्दैन । यो हात्तीदान दिए जस्तै भएको छ ।”

पूर्वनगरप्रमुख रेशम थापाले केन्द्र सरकारबाट बजेट पारेर अस्पताल निर्माण गरिएको हो तर सञ्चालनको सम्भावना र आवश्यकताको पूर्वयोजना नहुँदा सञ्चालन गर्न नसकिने समस्या आएको नगरपालिकाले जनाएको छ । प्रमुख थापाले भन्नुभयो, “सञ्चालनका लागि धेरै पहल गरियो । केन्द्रका स्वास्थ्यमन्त्रीसँग चिठीपत्र, डेलिगेसन गएर अनुरोध गरेका हौँ तर छिन छिनको सरकार परिवर्तनले पनि प्रभावित बनाएको छ । यो स्थानीय तहले मात्र सञ्चालन गर्न सक्ने अस्पताल होइन ।”  

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्थानीय तहमा स्थापना हुने पाँच, १० र १५ शय्याका अस्पतालको संरचना र सेवाको मापदण्ड तोकेको छ । १५ शय्याका लागि नौ वा १० तहको मेडिकल जनरलिस्ट, चिकित्सकीय सेवा, उपचारात्मक सेवा, निदानात्मक सेवा, अस्पताल व्यवस्थापन (प्रशासन एकाइ) आवश्यक मानिन्छ । यसै गरी बहिरङ्ग एकाइ, प्रयोगशाला एकाइ ल्याब टेक्निसियन, कविराज आयुर्वेद, रेडियो इमेजिङ एकाइ, आकस्मिक एकाइ, अन्तरङ्ग एकाइ र अस्पताल फार्मेसी हुनुपर्ने मापदण्ड छ । सोही मापदण्ड अनुसार नगरपालिकाले सञ्चालन गर्न नसक्दा अलपत्रमा परेको हो । 

१५ शय्याको अस्पतालका लागि मेडिकल जनरलिस्ट तह नौ वा १० तहको एक जना, आठौँ तहको मेडिकल अधिकृत दुई जना, स्टाफ नर्स छ, हेल्थ असिस्टेन्ट चार, आयुर्वेद सहायक एक, ल्याब टेक्निसियन, रेडियोग्राफर, फार्मेसी सहायक, डेन्टल हाइजिनिस्ट, एनेस्थेटिक सहायक, अप्थाल्मिक सहायक, नायब सुब्बा प्रशासन एक/एक, कार्यालय सहयोगी छ र सरसफाइकर्मी तीन गरी ३० जनाको दरबन्दी व्यवस्था छ ।