• १२ असोज २०८१, शनिबार

वडाले तिरिदियो किसानको विद्युत् महसुल

blog

ढल्केबर समाचारदाता

ढल्केबर, साउन २४ गते  । धनुषाको धनुषाधाम नगरपालिका–४, लक्ष्मीपुरका किसान पुलकित यादवलाई यस वर्ष सिँचाइ मोटर चलाउँदा खपत हुने विद्युत् महसुल तिर्नु परेन । यस वर्ष उहाँले डेढ बिघा खेतमा धान रोप्नुभएको छ । त्यति खेत हिल्याउन एक हर्सपावरको विद्युतीय मोटर प्रयोग भएको थियो । विद्युत् प्रयोग गरेबापतको महसुल तिर्नु नपरेपछि किसान यादव हर्षित देखिनुहुन्छ । 

त्यस्तै सोही ठाउँका अर्का किसान महावीर यादवले विद्युतीय मोटरको माध्यमबाट सिँचाइ गरेर दुई बिघा खेतमा धान बाली लगाउनुभएको छ । उहाँलाई पनि विद्युत् खपतबापतको महसुल तिर्नु परेन । विद्युत् महसुल तिर्नु नपरेपछि यस वर्ष मात्र १० हजार रुपियाँ जोगिएको महावीरले बताउनुभयो । 

लक्ष्मीपुर टोलका किसान पुलकित र महावीरले मात्र होइन, धनुषाधाम नगरपालिका–४ भित्रका कुनै पनि किसानलाई सिँचाइका लागि विद्युत् महसुल बुझाउनु परेको छैन । सबै किसानलाई खेत सिँचाइ गर्न वडा कार्यालयले विद्युत्को व्यवस्था गरेको छ । वडा कार्यालयले एकमुस्ट रूपमा विद्युत् महसुल नेपाल विद्युत् प्राधिकरण धनुषाधाम वितरण केन्द्रमा बुझाउने व्यवस्था मिलाएको छ । 

वडाध्यक्ष मनोज यादवले खेत खेतमा सहज सिँचाइका लागि कृषि मिटरको विद्युत् महसुल वडा कार्यालयबाट तिर्ने व्यवस्था मिलाएको बताउनुभयो । गत आवमा पाँच लाख रुपियाँ नेपाल विद्युत् प्राधिकरणलाई भुक्तानी गरेको बताउँदै उहाँले आफ्नो कार्यकाल रहेसम्म किसानलाई यो सुविधा प्रदान गरिने जानकारी दिनुभयो । वडाध्यक्ष यादवले वडाभित्रका विभिन्न नौ स्थानमा थोक कृषि मिटर जडान गरिएको र त्यहाँबाट विस्तार गरिएको विद्युतीय तारबाट किसानले सिँचाइ मोटर जडान गरेर चलाउने गरेको बताउनुभयो । यस्तो व्यवस्थाले किसानलाई आफ्नै कृषि मिटर लिनु नपर्ने उहाँको भनाइ छ । 

खेत खेतमा सिँचाइ गर्न निःशुल्क विद्युत् उपलब्ध हुँदा कृषि उत्पादन बढेर किसानको आर्थिक वृद्धिमा योगदान पुग्ने बताउँदै वडाध्यक्ष यादवले निर्वाचनका बेला जनतासँग गरेको प्रतिबद्धता पूरा गर्ने क्रममा किसानलाई निःशुल्क बिजुलीको व्यवस्था गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ ९५ प्रतिशत किसान र खेतीयोग्य जमिन छन् । त्यसैले पहिलो प्राथमिकता कृषि क्षेत्रको विकासलाई दिएका छौँ । यस्तो कार्यले किसानलाई प्रत्यक्ष लाभ पुगेको छ ।” यसलगायत स्वास्थ्य, शिक्षा, बाटो, खानेपानी र भौतिक पूर्वाधार निर्माणलगायत विकासको कामलाई सँगसँगै बढाइएको उहाँले बताउनुभयो । 

स्थानीय दीपक यादवले वडा कार्यालयले विद्युत् महसुल तिरिदिएपछि किसानलाई धेरै राहत पुगेको बताउनुभयो । खेतीयोग्य जमिनमा सिँचाइ पुग्ने हुँदा उत्पादनमा वृद्धि हुने र यसले समग्र किसानको जनजीवनमा सुधार आउने उहाँले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “वडाध्यक्षले यो कार्यक्रम ल्याउनुअघि यहाँका थोरै किसानले कृषि मिटर जडान गर्नुभएकोे थियो । अधिकांश किसान ‘हुकिङ’ गरेर विद्युत् प्रयोग गर्ने गरेका थिए । विद्युत् चोरी आरोपमा पक्राउ पर्दा जरिबाना तिर्नुपर्ने, मोटर जफत जस्ता समस्या किसानले भोग्दै आएका थिए । अब विद्युत् महसुल वडाले तिरिदिन थालेपछि यहाँका किसान ढुक्कले विद्युत् प्रयोग गर्न पाएका छन् ।” नेपाल विद्युत् प्राधिकरण धनुषाधाम वितरण केन्द्रका प्रमुख रोशनकुमार सिंहले वडा कार्यालयको यस कार्यले विद्युत् चुहावटमा कमी आएको बताउनुभयो ।