• १२ असोज २०८१, शनिबार

भिडियो एक्सरे गर्न महिनौँ कुर्नुपर्ने

blog

बाबुराम कार्की  

वराहक्षेत्र, साउन २४ गते । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि जाने बिरामीले भिडियो एक्सरे गर्न महिना दिनसम्म कुर्नुपर्ने बाध्यता छ । प्रतिष्ठानमा उपचार गर्न आउने बिरामीले भिडियो एक्सरे गर्नु परे १५ दिनदेखि महिना दिनभन्दा बढी समयमा कुर्नुपर्ने अवस्था छ । अस्पतालमा बिरामीका अन्य जाँच र शल्यक्रिया गर्नु परे महिनौँमहिनासम्म पालो पर्खनु पर्छ । यो बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि आउने बिरामीले बर्सौंदेखि भोग्दै आएको समस्या हो । 

केही दिनअघि कानेपोखरी गाउँपालिकाबाट ८२ वर्षीय बाबुलाई उपचार गराउन आउनुभएका एक सेवाग्राहीले बिमाबाट उपचार गराउन मुस्किल परेको दुःखेसो पोख्नुभयो । उहाँले भन्नुभयो, “बिरामी भएर थलिनुभएको बुवाको बल्ल एक हप्तामा भिडियो एक्सरे गर्ने पालो पाइयो । त्यो पनि धरैलाई अनुरोध गरेर ।” 

वराहक्षेत्रका तीर्थ माझीले पत्थरीको शल्यक्रिया गर्न तीन महिनासम्म कुर्नु प-यो । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहप्रवक्ता डाक्टर अभिजित कुमारका अनुसार अस्पतालमा उपचार गर्न आउने बिरामीको सङ्ख्याध अत्यधिक भएकाले बिरामीले समयमा उपचार पाउन नसकेको बताउनुभयो । डाक्टरले बिरामीको स्वास्थ्य परीक्षण गरे पनि डाक्टरको निर्देशन अनुसार गरिने जाँच गर्न समय लिनुपर्ने कारणले उपचारमा ढिलाइ हुने गरेको छ । यसले गर्दा बिरामीले थप सास्ती बेहोर्दै आएका छन् । 

प्रतिष्ठानमा दैनिक तीन हजारभन्दा बढी बिरामी उपचारका लागि आउने गरेको प्रतिष्ठानले जनाएको छ । दिनप्रतिदिन बिरामीकोे चाप बढ्दै जाँदा प्रतिष्ठानमा भएको जनशक्ति र स्रोतसाधनले मात्र धान्न सक्ने अवस्था नरहेको सहप्रवक्ता अभिजित कुमारको भनाइ छ ।

प्रतिष्ठानमा अहिले भिडियो एक्सरे गर्ने चार वटा मात्र मेसिन छन् । बिरामीको चाप अनुसार भिडियो एक्सरे मेसिन कम भएको बताइएको छ । रेडियोलोजीको जनशक्ति बढाउन पटक पटक विज्ञापन गरे पनि कोही नआएको सहप्रवक्ता अभिजित बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “भएका डाक्टर बिदेसिने क्रम बढिरहेकाले पनि विज्ञापन गर्दा जनशक्ति पाउन गाह्रो भएको छ ।”

ओपिडीमा पनि बिरामी घण्टौँ लाइनमा बसेर डाक्टरलाई सहज रूपमा देखाउने अवस्था छैन । प्रतिष्ठानमा उपचारका लागि रिफर भएर आएका बिरामीले समेत सहज रूपमा उपचार पाउन सकेका छैनन् । बिरामीको चाप बढी भएकाले अस्पतालको क्षमताले थेग्न सक्ने अवस्था छैन । आइसियु, इमर्जेन्सी, शल्यक्रिया र मेडिसिन कक्षसमेत बिरामीको चापसँगै साँघुरिँदै गएको छ । 

प्रतिष्ठानमा गाइनोबाहेक सात वटा शल्यक्रिया कक्ष भए पनि बिरामीको चापले गर्दा शल्यक्रिया गर्नुपर्ने बिरामी पनि महिनौँसम्म पालो कुर्नु परेको छ । यसको क्षमता बढाउन शल्यक्रिया कक्ष र डाक्टर नै थप्नुपर्ने डाक्टर अभिजित कुमार बताउनुहुन्छ । 

त्यस्तै यहाँ दाँतको एक्सरे गर्ने मेसिन बिग्रिएर थन्किएको बर्साैं भइसक्दासमेत मेसिन बनाउन चासो नदिँदा बिरामीले सास्ती खेप्नु परेको छ । डाक्टर उत्पादन गर्ने अस्पतालमा बिरामीले समयमा उपचार नपाउनु र अस्पतालको साख दिनप्रतिदिन घट्दै जानु दुःखदायी भएको उपचार गराउन आएका सुन्दरहरैचाका तिलकबहादुर राउत बताउनुहुन्छ ।