पुतलीबजार नगरपालिका स्याङ्जा सदरमुकाम अवस्थित पालिका हो । २०५३ सालमा साबिकका पुतलीबजार, करेन्डाँडा, सातुपसल, गणेशपुर र चण्डीकालिका गरी पाँच गाविस मिलेर यो पालिका बनेको थियो । २०७३ सालमा पुतलीबजारमा टक्सार, पौवेगौँडे, ठुलाडिही, बहाकोट, कोल्मा, राङभाङ र पेल्काचौर गाविस गाभिन पुगे । १४ वडा रहेका पालिकाको पूर्वमा कास्की र तनहुँ, पश्चिममा आँधीखोला र अर्जुनचौपारी गाउँपालिका तथा भिरकोट नगरपालिका, उत्तरमा कास्की जिल्ला र फेदीखोला गाउँपालिका दक्षिणमा बिरुवा गाउँपालिका र भिरकोट नगरपालिका पर्दछन् । १४७.१९ वर्गकिमी क्षेत्रफल रहेको पालिकाको सदरमुकाम पुतलीबजारबाट पोखरा एक घण्टामा पुगिन्छ । सिद्धार्थ राजमार्गको २७ किमी दुरी यही पालिकाभित्र पर्दछ । २०७९ सालको स्थानीय तहको चुनावमा यो नगरपालिकाको प्रमुखमा निर्वाचित तुलसीराम रेग्मीसँग गोरखापत्रकर्मी राधाकृष्ण डुम्रेले गर्नुभएको कुराकानी :
यहाँ नगरप्रमुखमा निर्वाचित भएपछि प्रमुख काम के के गर्नुभयो ?
नागरिकले फरक अनुभव गर्ने गरी काम गरिरहेका छौँ । वडा तहमा सफ्टवेयरमार्फत काम सुरु गरेका छौँ । गाउँ गाउँमा रहेका घरबासलाई प्रभावकारी बनाउँदै छौँ, जसका कारण स्थानीय नागरिकको आम्दानी बढाउन सहयोग पुगेको छ । सार्वजनिक जग्गा संरक्षण, पूर्वाधारको विकास, सडक, सिँचाइ, शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा पालिकाले काम गर्दै आइरहेको छ ।
शिक्षा, स्वास्थ्य र पूर्वाधारमा कस्तो प्रगति भएको छ ?
शिक्षालाई पहिलो प्राथमिकता दिएर नगर शिक्षा ऐन, २०७९ लागु गरिएको छ । भौगोलिक र विद्यार्थी सङ्ख्याका आधारमा विद्यालयलाई मर्ज गरिरहेका छौँ । शिक्षकको दरबन्दी मिलान गरेका छौँ । छ वटा विद्यालयमा विज्ञान प्रयोगशाला, आठ विद्यालयमा पुस्तकालय, दुई वटामा आइसिटी ल्याब र दुई विद्यालयको भवन निर्माण गरेका छौँ । कक्षा ३ सम्मको स्थानीय पाठ्यपुस्तक निर्माण गरी कार्यान्वयन गरिएको छ । विद्यालयमा खेलकुद निरन्तर सञ्चालन, पीडित छात्रवृत्तिको व्यवस्था, बालविकास शिक्षक र विद्यालयका कर्मचारीलाई पालिकाबाट थप प्रोत्साहन अनुदान दिँदै आएका छौँ ।
सबइन्जिनियर पढ्ने विद्यार्थीका लागि पालिकाका तर्फबाट प्रतिव्यक्ति रु. एक लाख पाँच हजार अर्थात् ५० प्रतिशत रकम छात्रवृत्तिस्वरूप उपलब्ध गराइएको छ । यसबाट गरिब तथा जेहनदार २८ जना विद्यार्थीले सहज रूपमा उच्च शिक्षा लिन पाएका छन् । सङ्घीय सरकारले दिएको खाजा खर्च न्यून भएकाले रकम थप गरेका छौँ । शिक्षक, अभिभावक र विद्यार्थीको त्रिपक्षीय सहकार्यमा शिक्षाको गुणस्तर सुधारका लागि काम गरिरहेका छौँ । स्वास्थ्यतर्फ सदरमुकाममा नै डायलासिस गर्ने व्यवस्था मिलाएका छौँ, जसका कारण मिर्गौलाका धेरै बिरामीलाई प्रत्यक्ष फाइदा पुगेको छ । रेडक्रससँग मिलेर जिल्ला अस्पतालमा ब्लड बैङ्कको स्थापना गरिएको छ । पालिकाको खर्चमा जिल्ला अस्पतालमा दक्ष चिकित्सकको व्यवस्था गरिएको छ । सुत्केरी आमालाई पोसिलो खाना, गरिब तथा विपन्न वर्गका लागि स्वास्थ्य बिमा, गर्भवती तथा सुत्केरीका लागि विशेष कार्यक्रम, निःशुल्क मुटु, दन्त, आँखा आदि स्वास्थ्य शिविर, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर स्क्रिनिङ, जिल्ला अस्पतालमा दक्ष चिकित्सक (एमजिडिपी) को व्यवस्था गरेका छौँ । नियमित स्वास्थ्यका कार्यक्रमलाई प्रभावकारी बनाउँदै लगिएको छ ।
पूर्वाधारका क्षेत्रमा महत्वपूर्ण काम भएका छन् । वडा नं. ६, १०, ११ र १४ को वडा कार्यालय निर्माण भएको छ । प्रगतिनगर–बहाकोट सडकको काम सुरु भएको छ । जाँडखोला–पेल्काचौर सडक कालोपत्रे पूरा भएको छ । बाडखोला–नयाँबजार–पौवेगाैँडे सडकको कालोपत्रेका लागि ठेक्का भएको छ । खेतीयोग्य जमिनलाई ध्यानमा राखी टापु क्षेत्रमा बहुबर्से सिँचाइ नाली निर्माण, वधशाला, कभर्ड हल निर्माण, सरसफाइ केन्द्रको व्यवस्थापनआदि काम भइरहेको छ ।
कृषि र पर्यटनका क्षेत्रमा के भइरहेको छ ?
कृषकलाई कृषि पेसाबाट नै आर्थिक रूपमा सबल बनाउन पालिकाले काम गरिरहेको छ । अनुदानमा २७ वटा टनेल, ६५० वटा प्लास्टिक क्रेट, ५० थान सुन्तला टिप्ने औजार, तराजु, सिँचाइ पाइप, किसान सूचीकरण कार्यक्रम, रैथाने बाली प्रवर्धन, च्याउ खेती, फलफूलको हार्भेस्ट, तरकारी खेतीसम्बन्धी तालिम आदि क्रियाकलाप भइरहेका छन् । व्यावसायिक भैँसीपालन गर्ने कृषकका लागि भैँसी खरिदमा अनुदान, घाँस खेती अनुदान, रेबिजविरुद्धको खोप र कुकुर बन्ध्याकरण शिविर, पशु चिकित्सकको व्यवस्था, बाख्रा पकेट कार्यक्रम, पशु स्वास्थ्य शिविर सञ्चालन पशुको बाँझोपन निवारणका लागि कार्यक्रम, नियमित खोप कार्यक्रम आदि चलिरहेका छन् ।
पर्यटन क्षेत्र पालिकाको आम्दानीको राम्रो स्रोत हो । प्रसिद्ध चण्डीस्थान मन्दिर, गुडीखोला मन्दिर, कैलाश गुफा, हुनीकोट गुफा, खर्सुलेख, नुवाकोट, भालुपहाड आदि जस्ता धार्मिक तथा पर्यटकीय स्थल रहेको यो नगरपालिका सांस्कृतिक तथा पर्यटकीय हिसाबले जिल्लाकै महत्वपूर्ण पालिकाका रूपमा चिनिन्छ । यिनीहरूलाई व्यवस्थित गराउँदै आर्थिक रूपमा सबल र सक्षम बनाउनु पालिकाको मुख्य जिम्मेवारी हो, हाम्रो ध्यान यसैतर्फ छ ।
आन्तरिक स्रोत कसरी व्यवस्थित गर्दै हुनुहुन्छ ?
आन्तरिक स्रोतको दायरा बढाउन पालिकाले नीतिगत रूपमा नै काम गरेको छ । आँधीखोलाबाट व्यवस्थित रूपमा गिट्टी, बालुवा निकालिँदै आएको छ । राजस्व सङ्कलनलाई सहज तर व्यवस्थित गर्ने काम गरिरहेको छ । पटके कर जस्ता नागरिकलाई प्रत्यक्ष असर पुग्ने कर हटाइएको छ ।
सदरमुकामकै जनसङ्ख्या घट्दो छ, किन ?
उच्च शिक्षाका लागि बाहिर जाने क्रम बढिरहेको छ । स्वास्थ्य र शिक्षाका लागि बाहिर जाने क्रम रोक्न हामीले काम गर्दै आएका छौँ । जिल्ला अस्पताललाई सुविधासम्पन्न बनाइँदै छ भने शिक्षालाई गुणस्तरीय बनाउँदै छौँ । कृषि र पशुपालनमा लाग्ने नागरिकलाई आर्थिक रूपमा सबल बनाउने, सदरमुकाममा रहेका सरकारी कार्यालयबिच सहकार्यको काम भइरहेको छ । जसका कारण सदरमुकामबाट बसाइँसराइ कम हुन सक्छ ।
तीन तहका सरकारबिच कस्तो सम्बन्ध छ ?
समन्वय राम्रो छ, केही कमजोरीलाई सुधार गर्नुपर्ने हुन्छ । विभिन्न योजनामा बजेट विनियोजन गरिँदा पालिकालाई प्राथमिकता दिनुपर्ने हुन्छ । पालिकाको समन्वय र सहकार्यमा मात्रै प्रदेश र सङ्घले बजेट विनियोजन गर्न मेरो सुझाव छ । कहिलेकाहीँ आवश्यकताको पहिचान नगरी बजेट विनियोजन हुँदै आएको छ, जसका कारण राम्रो काम र प्रगति हुन सकेको छैन ।यो क्रम रोकिनु पर्दछ ।
काम गर्दा चुनौती अनुभव गर्नुभएको छ ?
स्रोतसाधन थोरै तर नागरिकका अपेक्षा धेरै रहेकाले काम गर्न सहज छैन । स्थानीय तह नागरिकसँग प्रत्यक्ष जोडिने हुँदा काम गर्न चुनौती रहेको छ तर काममा सफलता मिलेको छ ।
अब मुख्य के के काम गर्ने योजना छ ?
पालिकाले एक घर एक धाराको नीतिगत व्यवस्था गरी काम अगाडि बढाएको छ, सडकको स्तरोन्नति गरिँदै छ, यो पूरा हुने छ । कृषि पेसालाई दिगो बनाउन पशु तथा कृषि प्राविधिकलाई कृषकको गोठखेतमा नै पठाउँदै छौँ । पुतलीबजार गुडिखोला–पोखरा सुरुङमार्गको पालिकाले पहल गरिरहेको छ । सुरुङमार्ग निर्माण हुन सके अहिलेभन्दा धेरै भारतीय पर्यटक यो बाटो हुँदै जाने छन्, बसाइँसराइको दर कम हुने छ । सिद्धार्थ राजमार्गको स्तरोन्नतिका लागि पालिकाले अगुवाइ गरिरहेको छ । यसमा नतिजा देखिने गरी काम गर्ने छौँ । शिक्षा, स्वास्थ्य, पूर्वाधार, पर्यटन हाम्रो प्राथमिकताका विषय हुन् । नागरिकका अपेक्षा पूरा गर्न अबको बाँकी समय खर्च गर्ने छौँ ।