• १६ भदौ २०८१, आइतबार

हालसम्मका हेलिकोप्टर दुर्घटना र मृत्यु

blog

काठमाडौँ, साउन २४ गते । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको तिन मिनेटमै एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । 

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार बुधबार दिउँसो १ बजेर ५४ मिनेटमा विमानस्थलबाट रसुवाको स्याफ्रुबेँसीका लागि उडेको नाइन एन–एजेडी कलसाइन हेलिकोप्टर नुवाकोटको सूर्यचौर गाउँपालिका–७ मा दुर्घटना हुँदा हेलिकोप्टर चालकसहित चार जना चिनियाँ नागरिकको मृत्यु भएको हो ।  मृत्यु हुनेमा हेलिकोप्टर चालक अरुण मल्ल र चिनियाँ नागरिक ताङ जुताओ, उ यियाओ (महिला), लि जिइ र झि जेमिङ रहनुभएको छ । 

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार एयर डाइनेस्टीसँग चार वटा हेलिकोप्टर रहेका थिए । विमानस्थलका प्रवक्ता सुवास झाले भन्नुभयो, “हेलिकोप्टर राडारबाट सम्पर्कविहीन भएलगत्तै खोजतलास सुरु गरियो । लगत्तै नेपाली सेनाबाट दुर्घटनामा परेको खबर आएपछि उद्धार तथा खोजतलासको टोली घटनास्थल पुगेको थियो । दुर्घटनास्थलको भौगोलिक अवस्था अनुसार खराब मौसमका कारण दुर्घटना भएकोजस्तो शङ्का गरिए पनि छानबिनपछि कारण खुल्ने छ ।”

शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्द थपलियाले दुर्घटनाग्रस्त क्षेत्रमा बिहानैदेखि बाक्लो कुहिरो लागेको र भौगोलिक अवस्था हेर्दा खराब मौसमका कारण दुर्घटना भएको हुन सक्ने बताउनुभयो ।  

उहाँले भन्नुभयो, “दुर्घटनास्थलमा ठुला रुख छैनन् । हेलिकोप्टर कुनै पहाडमा ठोक्किएजस्तो पनि देखिँदैन । दुर्घटनास्थल खोँचजस्तो ठाउँमा भएकाले उडानक्रममा उचाइ लिन नसकेको हो कि भन्ने शङ्का छ ।” नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले मृतक पाँच जनाकै शव सङ्कलन गरेर पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल ल्याएको उहाँले जानकारी दिनुभयो ।

छानबिन समिति गठन

एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना छानबिन गर्न सरकारले तिन सदस्यीय छानबिन समिति गठन गरेको छ । बुधबार आकस्मिक बसेको मन्त्रीपरिषद् बैठकले तिन सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको हो ।

सरकारले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको नेतृत्वमा एरोनोटिकल इन्जिनियर विष्णु बस्नेत र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका हवाई महाशाखा प्रमुख तनुजा पोखरेलसहितको छानबिन समिति गठन गरेको हो । समितिलाई प्रतिवेदन तयार गर्न ३० दिनको कार्यादेश दिइएको छ ।

प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

प्रधानमन्त्री केपी शर्मा ओलीले नुवाकोटमा भएको एयर डाइनेस्टी हेलिकोप्टर दुर्घटना भएकोमा दुःख व्यक्त गर्नुभएको छ । सिंहदरबारस्थित उपत्यका मेयर्स फोरमका पदाधिकारीसँग पूर्वनिर्धारित भेटघाटमा रहनुभएका प्रधानमन्त्री ओलीले दुर्घटनाको खबर थाहा पाएपछि सो भेटघाटलाई सङ्क्षिप्त बनाएर मन्त्रीपरिषद्को आकस्मिक बैठक बोलाउनुभएको थियो । प्रधानमन्त्री ओलीले हवाई दुर्घटना हुनु दुःखद भएको बताउनुभएको छ ।