• १२ असोज २०८१, शनिबार

विद्यालयलाई सेनिटरी प्याडसहित डिस्पोजल मेसिन वितरण

blog

इमान सिं राना

रामपुर (पाल्पा), साउन २३ गते । जिल्लाको रामपुर नगरपालिकाले विद्यालयलाई सेनिटरी प्याड सहित डिस्पोजल मेसिन वितरण गरेको छ । नगरभित्रका १८ माध्यमिक विद्यालयलाई मेसिन सहित प्याड र ६ आधारभूत तहका विद्यालयलाई सेनिटरी प्याड उपलब्ध गराएको हो । 

कक्षा ६ देखि १२ सम्म अध्ययनरत छात्रालाई लक्षित गरी निःशुल्क रूपमा प्याड सहित मेसिन उपलब्ध गराएको रामपुर नगरपालिकाले जनाएको छ । सरकारबाट सशर्त कार्यक्रमका रूपमा प्राप्त बजेटमार्फत २४ वटा विद्यालयलाई ११ हजार ६२ प्याकेट सेनिटरी प्याड र १८ वटा नष्ट गर्ने मेसिन वितरण गरिएको नगर शिक्षा अधिकृत विकल काफ्ले बताउनुभयो । सशर्त कार्यक्रमको २० लाख रुपियाँमार्फत डिस्पोजल मेसिन र सेनिटरी प्याड खरिद गरी वितरण गरिएको बताउनुभयो । १ हजार ७ सय ५६ जना छात्रालाई ६-६ वटा पुग्ने गरी विद्यालयलाई प्याड उपलब्ध गराएको जानकारी दिनुभयो । 

रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले विद्यालयलाई सेनिटरी प्याड वितरण गर्दै आए पनि प्रयोग पश्चात् व्यवस्थापनमा समस्या हुँदै आएकोले यस वर्ष नष्ट गर्ने मेसिन समेत प्रदान गरिएको बताउनुभयो । 

सेनिटरी प्याडले विद्यालयमा अध्ययनरत छात्राहरूलाई धेरै राहत मिलेको र प्रयोग पश्चात् व्यवस्थापनमा समस्या देखिएकोमा डिस्पोजल मेसिन प्राप्त पछि व्यवस्थापन गर्न सहज हुने दरैठाँटी माध्यमिक विद्यालयका प्रधानाध्यापक सुन्दर प्रसाद देवकोटाले बताउनुभयो ।