• १२ असोज २०८१, शनिबार

पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग खुल्यो

blog

वसन्त पराजुली

भरतपुर, साउन २३ गते । पहिरोले अवरुद्ध भएको पृथ्वी राजमार्ग खुलेको छ । बुधबार बिहानैबाट अवरुद्ध राजमार्ग अहिले केहीबेर अघि खुलेको हो ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले पहिरो सफा गरेर राजमार्ग खुला गरिएको जानकारी दिनुभयो । अहिले एकतर्फी सडक खुलेको र बिस्तारै दुवै तर्फ यातायात सञ्चालन गरिने पनि उहाँले बताउनुभयो । पहिरोका कारण बुधबार बिहान ०७ः३५ बजेदेखि इच्छाकामना गा.पा.४ पृथ्वीराजमार्गको नाग्दी खोलामा अवरुद्ध थियो । 

माथिबाट ढुङ्गा सहितको पहिरो झरी बाटो अवरुद्ध भएको थियो । अहिले सडक विभागको लोडरको सहायताले पहिरो पन्छाइएको हो । पहिरो पन्छाउने क्रममा माथिबाट खसेको ढुङ्गा लागेर लोडर चालक धादिङ गल्छीका ४६ वर्षीय लिलाधर अधिकारी घाइते भएका छन् । उहाँको अहिले भरतपुर अस्पतालमा उपचार भइरहेको छ । 

पहिरोकै कारण अहिले अवरुद्ध भएका सवारीसाधन अब सञ्चालनमा आउन थालेका छन् । पहिरोले अवरुद्ध हुँदा एसइईका पूरक परीक्षा दिन आएका कुरिनटारका विद्यार्थीहरू पनि मुग्लिनमा अलपत्र परेका थिए ।