• १२ असोज २०८१, शनिबार

लोपाेन्मुख चाइनिज सालकको उद्धार

blog

टक्सारटारी सामुदायिक वनमा लगेर छोडेको चाइनिज सालक । तस्बिर : नवीन सिर्मल

गुणबहादुर रोका
सुलीकोट, साउन २३ गते ।
गोरखामा लोपाेन्मुख चाइनिज सालकको उद्धार गरिएको छ । मङ्गलबार दिउँसो ३ बजे आरुघाट गाउँपालिका – ९ धमलाचोकको एक स्थानियको घरमा छिरेपछि स्थानियवासीले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय आरुघाटको प्रहरी टोलीले उद्धार गरी डिभिजन वन कार्यालय गोरखामा बुझाएको डिभिजन वन कार्यालय गोरखाका सूचना अधिकारी महेश पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार डिभिजन वन कार्यालयका कर्मचारी, सामुदायिक वनका पदाधिकारी र सदस्यहरुको रोहबरमा गोरखा नगरपालिका – ९ स्थित टक्सारटारी सामुदायिक वनको सुरक्षित स्थानमा मङ्गलबार ५ बजे लगेर छोडिएको उहाँले बताउनुभयो ।

करीब एक वर्षदेखि डेढ वर्ष उमेर जतिको चाइनिज सालक गोरखामा लगतार परेको अविरल वर्षाका कारण पनि सालक बस्ने दुलोभित्र पानी छिरेकाले पनि बाहिर निस्केर बस्तीतिर पसेको हुन सक्ने डिभिजन वन कार्यालय गोरखाले जनाएको छ । मुख्य गरी सालक प्रजाति भएको ठाउँ, मान्छे बस्न र खेती गर्न छोडेको ठाउँमा सालक बस्न सक्छ ।

लोपउन्मुख सालक बहुमूल्य प्रजाति भएकाले पनि अवैध चोरी शिकारी हुने गरेको छ, सूचना अधिकारी महेश पौडेलले भन्नुभयो, “सालकको बाहिरी कत्ला र त्यसको पूरै शरीर विदेशमा राम्रो मूल्यमा बिक्री वितरण भई चोरी निकासी हुने गरेको छ ।”

सालक जातको प्रजातिलाई कसैले चोरी निकासी गरेको पाइएमा सङ्कटपन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन २०७३ अनुसार पाँच देखि १० लाखसम्म जरिबाना र ५ वर्षदेखि १५ वर्ष कैद अथवा दुबै सजाय हुने कानुनमा प्रष्ट उल्लेख गरिएको डिभिजन वन कार्यालय गोरखाका प्रमुख मदन मोहन शाण्डिल्यको भनाइ छ ।

लोपाेन्मुख सालकलाई किसानको साथीको रुपमा पनि लिने गरिएको छ, प्रमुख शाण्डिल्यले भन्नुभयो, “सालकको प्रमुख आहार भनेको धमिरा र कमिला भएकाले किसानले लगाएको खेती नष्ट गर्ने धमिरा र कमिलालाई सालकले आहारको रुपमा खाने भएकाले खेतीपाती जोगिन सक्छ ।”