• १२ असोज २०८१, शनिबार

डेडिकेटेड र ट्रङ्क लाइन महसुल उठाउन छाडेर अनावश्यक तर्क गरियो : सांसद बस्नेत

blog

नेकपा (माओवादी केन्द्र)का सांसद शक्तिबहादुर बस्नेत ।

काठमाडौँ, साउन २१ गते । नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले डेडिकेटेड र ट्रङ्क लाइन महसुल उठाउन छोडेर अनावश्यक तर्क गरिएकामा आपत्ति प्रकट गर्नुभएको छ । प्रतिनिधि सभाको आजको बैठकको विशेष समयमा बोल्दै पूर्वऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रीसमेत रहनुभएका सांसद बस्नेतले संसद्को सार्वजनिक लेखा समितिमा पछिल्ला दिनमा भइरहेको बहस तर्कसङ्गत नभएको बताउनुभयो ।

महसुल उठाउन पाइँदैन भनेर नेपाल विद्युत प्राधिकरणलाई भृकुटी कागज कारखाना बनाउन खोजिएको हो ? भन्ने प्रश्न गर्दै सांसद बस्नेतले पटक पटक अदालतले आदेश दिएको र विभिन्न निकायले निर्णय गरेका आधारमा थप छुट महसुल उठाउन खोजिएको बताउनुभयो । उहाँले लोडसेडिङको समयमा २० घण्टाभन्दा बढी बिजुली प्रयोग गर्ने उद्योगले थप महसुल तिर्नुपर्छ भन्ने सामान्य विषयलाई नजरअन्दाज नगर्न र छुट नदिन आग्रह गर्नुभयो ।

सांसद बस्नेतले सरकारमा बसेर प्रश्न मात्रै गर्ने तर कुनै निष्कर्ष नदिने छुट कसैलाई नभएको स्पष्ट पार्नुभयो । प्राधिकरणको सञ्चालक समितिको बैठकमा फरक मत राखेका आधारमा सञ्चालक समितिका सदस्यहरूलाई कारबाही गरिएकामा सांसद बस्नेतले गुनासो गर्नुभयो । “सरकारले कुन आदेश गर्‍यो र कुन आदेश सञ्चालक समिति सदस्यले उल्लङ्घन गरे ? फरक मत राखेको आधारमा कारबाही गर्दै जाने हो भने लोकतन्त्रको योभन्दा मजाक अरू हुनै सक्दैन”, उहाँले भन्नुभयो । संविधान संशोधनको विषय गलत मनसायका साथ आएको सांसद बस्नेतको आरोप थियो ।

अर्थतन्त्रका सूचक सकारात्मक देखिँदै गएका छन् : सांसद गैरे

नेकपा (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले वर्तमान सरकार गठन भएपछि मुलुकको अर्थतन्त्रका सूचक सकारात्मक देखिँदै गएका बताउनुभएको छ । उहाँले संविधान कार्यान्वयनमा देखिएका कमी कमजोरीलाई सुधार गरेर जाने भनेर प्रमुख दुई दलबिच भएको सहमतिलाई पूर्णता दिन सकिए थप आशाको सञ्चार हुने बताउनुभयो ।

संविधान संशोधन कुनै पनि अर्थमा प्रतिगमन हुन नसक्ने तर्क गर्दै सांसद गैरेले यथास्थितिमा रहनुपर्छ, कुनै सुधार गर्नुहुन्न भन्ने मतलाई भने गलत मान्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले देशव्यापीरुपमा मनसुनका कारण सडक सञ्जालमा क्षति पुगेकाले त्यसको मर्मत सम्भारमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभयो । सार्वजनिक सवारी साधनको सहज प्रबन्ध गर्न सकिए नजिकिँदो चाडपर्वमा नागरिकले सहजरुपमा यात्रा गर्न सक्ने वातावरण बन्ने उहाँको भनाइ थियो । 

दुग्ध किसानले मूल्य नपाएको, रासायनिक मल नपाएको अवस्था अन्त्य गरेर कृषि क्षेत्रलाई सबल र सक्षम बनाउनुपर्नेमा सांसद गैरेले जोड दिनुभयो । खाद्यान्न आयात गर्नुपर्ने अवस्था अन्त्य गर्न सबैको सार्थक पहल हुनुपर्ने र कृषि क्षेत्रको औद्योगीकरण गर्नुपर्ने उहाँको भनाइ थियो । सांसद गैरेले वैदेशिक रोजगारीको क्षेत्रमा देखिएको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउँदै असुरक्षित रहेका देशमा पुनः कामदार पठाउन लागिएको  भनेर सार्वजनिक भएका विषयको सत्य तथ्य के हो भन्दै प्रश्न गर्नुभयो । 

मुलुकभित्र समस्याका रूपमा रहेको आर्थिक अनियमितता, भ्रष्टाचारको नियन्त्रणका लागि सरकारले कडा कदम चाल्नुपर्ने उहाँले बताउनुभयो । प्रमुख प्रतिपक्षी दलले कोही कसैमाथि छानबिन नै गर्न पाइँदैन भनेर गरेको तर्क यर्थाथसँग मिल्दो नभएको सांसद गैरेको धारणा थियो । रासस