• १६ भदौ २०८१, आइतबार

सुदूरपश्चिममा दश सदस्यीय मन्त्रीपरिषद् गठन

blog

प्रदेश प्रमुखबाट शपथ ग्रहण गर्नुहुँदै मुख्यमन्त्री कमलबहादुर शाह । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, साउन २१ गते । सुदूरपश्चिम प्रदेशमा १० सदस्यीय प्रदेश सरकार गठन भएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले १० सदस्यीय मन्त्रीपरिषद् गठन गर्नुभएको हो । 

मुख्यमन्त्रीसहित मन्त्री र राज्यमन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्री, मन्त्रीहरू र मुख्यमन्त्री शाहले राज्य मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो । 

नेपाली कांग्रेसबाट दुई मन्त्री र दुई राज्यमन्त्री, नेकपा (एमाले) बाट तीन मन्त्री र एक राज्यमन्त्री तथा नागरिक उन्मुक्ति पार्टीबाट एक जना मन्त्री बन्नुभएको छ । नेपाली कांग्रेसबाट बहादुरसिंह थापा, मेघराज खड्का मन्त्री र प्रकाश बम तथा सरस्वती खड्काले राज्यमन्त्रीको रूपमा शपथ ग्रहण गर्नुभएको छ । 

यसैगरी, एमालेबाट सुरेन्द्रबहादुर पाल, वीरबहादुर थापा, हीरा सार्कीले मन्त्री र निर्मला साउँदले राज्यमन्त्रीको रूपमा शपथ ग्रहण गर्नुभयो । यसका साथै नागरिक उन्मुक्ति पार्टीबाट लक्ष्मणकिशोर चौधरीले मन्त्रीको शपथ ग्रहण गर्नुभएको छ ।

सुरेन्द्रबहादुर पाललाई भौतिक पूर्वाधार विकास मन्त्रालय, बहादुरसिंह थापालाई आर्थिक मामिला मन्त्रालय, मेघराज खड्कालाई सामाजिक विकास मन्त्रालय, लक्ष्मणकिशोर चौधरीलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसैगरी, हीरा सार्कीले आन्तरिक मामिला तथा कानुन मन्त्रालय र वीरबहादुर थापाले भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । 

निर्मला साउँदलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्री, प्रकाश बमलाई आर्थिक मामिला राज्यमन्त्री र सरस्वती खड्कालाई सामाजिक विकास राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।