• १२ असोज २०८१, शनिबार

३० औँ विश्व आदिवासी दिवस मनाइँदै, तयारी अन्तिम चरणमा

blog

पत्रकार सम्मेलनमा बोल्दै नेफिनका अध्यक्ष गेल्जे लामा शेर्पा ।

काठमाडौँ, साउन २१ गते । नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन)ले ३० औँ विश्व आदिवासी दिवस मनाउने भएको छ । नेफिनले पत्रकार सम्मेलन गरी अगस्ट ९ तारिख (साउन २५ गते) ३० औँ विश्व आदिवासी दिवस मनाउन लागेको जानकारी दिएको हो । 

विश्वका आदिवासीहरूले विगत ३० वर्षदेखि मनाउँदै आइरहेको अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस नेपालका आदिवासीले पनि विशेष उत्सवका रूपमा मनाउँदै आएका छन् । नेफिनले यो वर्ष “संविधान प्रदत्त अधिकार आदिवासीहरूको विशेष क्षेत्र, संरक्षित क्षेत्र र स्वायत्त क्षेत्र कार्यान्वयन गर, प्रदेश र स्थानीय तहको सरकारी कामकाजको भाषामा आदिवासी जनजातिको भाषा लागू गर” भन्ने मूल नारा सहित विश्व आदिवासी दिवस मनाउने निर्णय गरेको सम्मेलनमा जानकारी दिइएको छ । 

यस वर्ष संयुक्त राष्ट्रसङ्घले स्वैच्छिकरुपमा अलग बसिरहेका र भर्खरै सम्पर्कमा आएका आदिवासीहरूको अधिकार संरक्षण भन्ने अन्तर्राष्ट्रिय नारा तय गरेको छ । सोही सन्दर्भमा नेपालका आदिवासी जनजाति समुदायहरूले साउन २५ गते शुक्रबारका दिन नेपालका आदिवासी जनजातिहरूका मातृभाषा र लोक भाकामा बनेका गीत, सांस्कृतिक झाँकी, स्थानीय र रैथाने प्रकृतिका आदिवासी जनजातीय कलाकृति सहितका प्रदर्शनी, विभिन्न जातीय भेषभूषासहित राजधानीको मध्यभाग भृकुटीमण्डपको प्रदर्शनी मार्ग देखि प्रज्ञा भवन कमलादीसम्म परिक्रमा गरी आदिवासी जनजातिको भव्य प्रस्तुतिलाई प्रतिविम्ब गर्ने तयारी गरेका छन् । 

झाँकीसहितको र्‍याली ११ बजे भृकुटीमण्डपमा जम्मा भएर भद्रकाली, सुन्धारा, जमल, घण्टाघर भएर नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीको सभाहलमा प्रवेश गरी मूल समारोहमा परिणत हुनेछ । नगर परिक्रमा पछि प्रज्ञा भवनको सभाहलमा मूल समारोह सुरु हुने बताइएको छ । उक्त कार्यक्रममा नेपाल सरकारका मन्त्रीहरू, पार्टी प्रतिनिधिहरू, संवैधानिक निकायका प्रमुखहरू, सांसदहरू, महासङ्घका पूर्व प्रमुखहरू, विभिन्न आदिवासी जनजाति विशिष्ट व्यक्तित्वहरू, जातीय संस्था र सम्बन्धन सङ्गठनका अध्यक्षलगायत विभिन्न क्षेत्रका आदिवासी जनजाति सङ्घ संस्थाबाट हजारौँको उपस्थिति रहने जनाइएको छ । 

३० औँ विश्व आदिवासी दिवसको अवसरमा प्रज्ञा भवनको पछाडि रहेको खुल्ला बगैँचामा आदिवासी जनजातिहरूको विभिन्न मौलिक खानपिनहरू प्रदर्शनी (फुड फेस्टिभल) तथा विक्री वितरण स्टल पनि राखिने आयोजकले जानकारी दिएको छ । दिवसको अवसरमा नेफिनसँग आबद्ध विभिन्न जातीय संस्था र सम्बन्धन सङ्गठनद्वारा सप्ताहव्यापी विभिन्न कार्यक्रमसमेत गर्दै आएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै नेफिनका अध्यक्ष गेल्जे लामा शेर्पाले संविधानमा व्यवस्था गरिसकेपछि त्यसलाई ऐन, कार्यविधि बनाएर कार्यान्वयन गर्नुपर्ने भन्दै सरकारले २०७२ सालमा जारी गरेको संविधानमा उल्लेख भएका आदिवासी जनजातिको अधिकार कार्यान्वयन गराउनका निम्ति आन्दोलन केन्द्रित गर्नुपर्ने बताए । “सरकारले २०७२ सालमा जारी गरेको संविधान अपुरो थियो । अब संविधान संशोधनको कुरा सरकारले गरेको छ । यदि हाम्रो माग पुरा हुने संविधान बनेन भने हामी त्यो संशोधन स्वीकार गर्दैनौँ । त्यो संविधान मान्दैनौँ,”उहाँले भन्नुभयो ।

यसैगरी नेफिनका महासचिव दिवस राईले ३० वर्षसम्म आइपुग्दा नाराको मुख्य विषय आन्दोलनमा केन्द्रित भएपनि यो वर्षदेखि संविधानले दिएको अधिकार कार्यान्वयन गराउनेतर्फ केन्द्रित भएको बताउनुभयो । उहाँले भन्नुभयो,“यस वर्ष नारा निर्माण गर्दा संविधानले दिएको संरक्षित कुरा राज्यले नदिएका कारण राज्यलाई घचघच्याउन केन्द्रित गरेका छौँ । सबै भाषालाई बाहुल्यताअनुसार त्यो क्षेत्रमा सरकारी कामकाजको भाषा बनाउन पनि हामीले सरकारलाई घचघच्याउन आवश्यक छ । सरकारले हाम्रो भाषालाई दबाएको छ । त्यसको उजार गर्न र कामकाजमा ल्याउन हामीले यस वर्षको नारामा उल्लेख गरेका छौँ ।” संयुक्त राष्ट्र सङ्घले अगस्ट ९ तारिखलाई विश्व आदिवासी दिवसका रूपमा मनाउने घोषणा गरेपछि सन् १९९४ देखि हरेक वर्ष दिवस मनाउन थालिएको हो ।