• १६ भदौ २०८१, आइतबार

काभा महिला भलिबल : सेमिफाइनलमा नेपालको प्रतिद्वन्द्वी इरान

blog

फाइल तस्बिर ।

काठमाडौँ, साउन २१ गते । नेपालले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेशन्स लिगको सेमिफाइनलमा इरान प्रतिद्वन्द्वी पाएको छ । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा सोमबार नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा हरायो । माल्दिभ्समाथि २५–६, २५–१९, २५–१८ को सहज जित निकाले पनि नेपाल लिगमा दोस्रो बन्दै सेमिफाइनलमा पुगेको हो । 

नेपालले चार खेलबाट नौ अङ्क बनायो । नेपालले यसअघि श्रीलङ्कालाई ३–० र भारतलाई ३–२ को सेटमा हराएको थियो । तेस्रो खेलमा भने नेपाल इरानसँग ३–२ को सेटमा पराजित भएको थियो । चार खेलबाट सात अङ्क बनाएको इरानले तेस्रो बन्दै सेमिफाइनलमा नेपालसँगको भेट पक्का गरेको हो । 

यस्तै सोमबार नै भएको खेलमा भारत श्रीलङ्कालाई ३–० को सोझो सेटमा हराउँदै शीर्षस्थानमा रह्यो । भारतले श्रीलङ्कामाथि २५–१३, २५–२१, २५–२० को नतिजा निकालेको थियो । जितसँगै भारतले चार खेलबाट १० अङ्क बनायो । 

हारेपनि चार अङ्कसहित शीर्ष चारमा अटाएको श्रीलङ्का र भारतबिच सेमिफाइनलमा प्रतिस्पर्धा हुनेछ । माल्दिभ्स यसअघिकै प्रतियोगिताबाट बाहिरिएको थियो । माल्दिभ्सले लिग चरणमा सबै हार खेप्यो ।