• १६ भदौ २०८१, आइतबार

अमेरिकी राष्ट्रपतिमा ट्रम्प र ह्यारिसको प्रतिस्पर्धा : कसको पल्ला भारी ?

blog

अमेरिका, साउन गते । अमेरिकी राष्ट्रपति जो वाइडेन राष्ट्रपतीय दौडबाट पन्छिएर उपराष्ट्रपति कमला ह्यारिसको समर्थन गरेर आफ्नो उम्मेदवारी फिर्ता लिएपछि अमेरिकी राष्ट्रपति निर्वाचनको राजनीतिले एकाएक कोल्टे फेरेको छ । 

अब विश्वको शक्तिशाली राष्ट्रपतिको दौडमा वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पबिच कडा मुकाबिला हुने अनुमान गरिएको छ । गत शुक्रबार डेमोक्रेटिक पार्टीका बहुमत डेलिगेट्सले कमलालाई नै पार्टीको आधिकारिक उम्मेदवार तोकिसकेको छ र अगष्ट १९ तारिखमा सम्पन्न हुने राष्ट्रिय महाधिवेशनले औपचारिकता मात्र दिनेछ । 

गत जून २७ तारिखमा सम्पन्न वाइडेन र ट्रम्पबिचको टेलिभिजन बहसमा वाइडेनको निराशाजनक प्रस्तुतिपछि पार्टी पङ्क्तिभित्र वाइडेनको खरो र तीखो आलोचना भएको थियो । यति मात्र होइन, शारीरिक र मानसिक दुवै रूपले अशक्त वाइडेनले अमेरिकालाई हाँक्न सक्दैनन् भन्ने दलिल पार्टी पङ्क्तिभित्रै उठेको थियो । पार्टीका मतदाता र सम्भावित मतदाताबाट मात्र होइन, वाइडेनमाथि पार्टीका तीन दर्जनभन्दा बढी सांसदले उहाँ राष्ट्रपति निर्वाचनबाट पछि हट्न सुझाव र दबाब दिएका थिए । यसको केही दिनमा नै उहाँले पत्रकार सम्मेलनको आयोजना गरेर उम्मेदवारी त्यागेको घोषणा गर्दै नयाँ पुस्तालाई सत्ताको साँचो सुम्पेको बताउनुभएको थियो । सोही अनुरूप डेमोक्रेटिक पार्टीको उम्मेदवारीबाट पछि हटेर उपराष्ट्रपति कमला ह्यारिसलाई समर्थन गरेपछि कमलाको पक्षमा अहिले माहौल तातेको छ । 

पूर्व राष्ट्रपति बाराक ओबामा र बिल क्लिन्टनलगायत डेमोक्रेटिक पार्टीका अधिकांश वरिष्ठ नेताले कमलाको पक्षमा समर्थन गरिसकेका छन् । अब आफूमाथि आएको यो गहन जिम्मेवारीलाई कमलाले कसरी सम्हाल्नुहुनेछ, त्यो भने आगामी दिनमा उहाँले चाल्ने कदमबाट प्रभावित हुनेछ । 

कमलाको अबको सहज बाटो भनेको उपराष्ट्रपतिको चयन हो । सम्भावित उपराष्ट्रपतिका पाँच जना उम्मेदवार छन् । छ जना सिनेटर तथा गभर्नरसँग कमलाले गम्भीर छलफल गरिसक्नुभएको छ । आगामी मङ्गलबारसम्ममा उहाँले यसको छिनोफानो गर्नुहुने अपेक्षा गरिएको छ । 

असल उपराष्ट्रपतिको चयनपछिको कमलालाई मात्र होइन, डेमोक्रेटिक पार्टीलाई सहजै गन्तव्यसम्म पुर्‍याउन सहज हुने अनुमान गरिएको छ । उपराष्ट्रपतिको दौडमा रहेकामध्ये सर्वाधिक अग्रपङ्क्तिमा पेन्सिलभेनियाका गभर्नर जोस स्यापिरो रहनुभएको छ । उहाँसँगै मिनिसोटाका गभर्नर टिम वाल्ज, केन्टकीका गभर्नर एण्डी वेसर, एरिजोनाका सिनेटर मार्क केली, एलिनोइका गभर्नर जेबी प्रिजेकर र हालका यातायात मन्त्री पिट बुटिजज रहनुभएको छ । 

उता पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई केही हप्ता अघि नै रिपब्लिकन पार्टीको महाधिवेशनले आफ्नो पार्टीको आधिकारिक उम्मेदवार तोकिसकेको छ । ट्रम्पले जे.डी भेन्सलाई आफ्नो उपराष्ट्रपतिको उम्मेदवार तोकिसक्नुभएको छ ।

त्यसो भए आगामी नोभेम्बरमा सम्पन्न हुने निर्वाचनमा कमला र ट्रम्पले कुल ५३८ मध्ये २७० वा सोभन्दा माथि इलेक्टोरल मत पाउला र राष्ट्रपति चुनिएला ? यो प्रश्नले अमेरिकी मतदाताको मथिङ्गल गिचोलिएको छ । ५९ वर्षीया कमला र ७९ वर्षीय ट्रम्पको उम्मेदवारीपछि गरिएको मत सर्वेक्षणमा ट्रम्पभन्दा दुई प्रतिशत बढी मतदाताले कमलालाई मन पराएको देखाएको छ । जुन बूढा भनेर आरोप खेपेका वाइडेनको भन्दा निकै बढी प्रतिशत हो । यसले पनि कमलालाई निकै हौस्याएको छ । वाइडेनले चुनावी यात्रामा हालसम्म उठाएको ९५ मिलियन डलरको अनुपातमा कमलाले दुई दिनभित्रै ८१ मिलियन डलर उठाइसकेको कारण पनि कमलाप्रति जनमानस जागरूक र समर्थक भएको देखिन्छ । 

त्यसो त अमेरिकाभरिका डेमोक्रेटिक पार्टीका विशिष्ट महिलाको जूम बैठकले पनि कमलालाई कसरी जिताउन सकिन्छ भनेर विशेष छलफलसमेत गरेको कारण उहाँप्रति महिलाको पनि झुकाव रहेको देखिन्छ । यसपटक अश्वेत, ल्याटिनो र युवा मतदाताको भार कमलामाथि धेरै छ । 

अधिकांश विश्लेषकले पनि कमलाको पक्षमा मत जाने अनुमान गरेका छन् । महिलामैत्री भइनसकेका अमेरिकी मतदाताले एसियन अमेरिकी मूलकी अश्वेत महिलालाई राष्ट्रपति चुन्लान् त ? अहिलेको सबैभन्दा गहन प्रश्न यही हो । हो, उहाँको खरो भाषण, महिला र महिलाको प्रजनन र गर्भपतनको अधिकारका बारेमा स्पष्ट दृष्टिकोण छ तर विजयका लागि यो नै काफी छैन । 

अश्वेत र श्वेतको भेद अमेरिकी मतदातामा भरपुर छ । यो नै उहाँको पराजयको कारक र कारण बन्न पनि सक्छ । किनकि २०१६ मा राष्ट्रपति पत्नी श्वेत महिला हिलारी क्लिन्टनले ट्रम्पसँग पराजय भोग्नुको कारण कारक पनि यही भएको विश्लेषण थियो । 

त्यसो त हिलारी कमलाभन्दा पनि बढी लोकप्रिय यस कारण हुनुहुन्थ्यो कि उहाँका श्रीमान् बिल क्लिन्टन राष्ट्रपति र उहाँ आफैँ पनि परराष्ट्र मन्त्री र एक बहुआयामिक व्यक्तित्व हुनुहुन्थ्यो । कमला ह्यारिस पनि हिलारी क्लिन्टनभन्दा कुनै पनि कुरामा कम हुनुहुन्न  । तर रङ्गभेदले भित्री तहमा अमेरिकी जनताको दिल दिमागमा डेरा जमाएर बसेको कारण पनि मतदान स्थलसम्म कमलाको पक्षमा मत आउला भनेर विश्वास गर्ने आधार देखिन्छ । 

विगत आठ वर्षमा अमेरिकी राजनीति र अमेरिकी मतदाताको मनस्थितिमा धेरै परिवर्तन नआएको कारण यसै हुन्छ भनेर ठोकुवा गर्न सकिँदैन । बहुजनले सर्वप्रिय मानेको उपराष्ट्रपतिको चयन पनि कमलाको राष्ट्रपति निर्वाचनको एउटा बलियो आधार हुनसक्छ । त्यो चयन गलत भयो भने त्यसले दूरगामी असर पार्नेछ । 

उता ट्रम्प विजयी हुने खास कारण केही पनि छैन । मूलतः आप्रवासीहरूको मुलुक हो अमेरिका । अमेरिकी जनता र अमेरिकालाई पहिलो प्राथमिकतामा राख्ने चुनावी नारा केही हदसम्म सफल भए पनि आप्रवासीको मत ट्रम्पले पाउने कुरामा शङ्का गर्न सकिन्छ । ट्रम्पको विगतको चारवर्षे कार्यकाल अन्तर्राष्ट्रिय रूपले सफल भएको मानिँदैन । 

जनवरी ६ को हुलहुज्जत र क्यापिटल हिलमाथि गरिएको आक्रमणको दोष ट्रम्पमाथि नै लगाइएको छ । त्यति मात्र होइन, उहाँमाथि महिला उत्पीडन, यौन हिंसा र गम्भीर अपराधका तीन दर्जनभन्दा बढी मुद्दामा अदालतले दोषी ठहर गरिसकेको परिस्थितिमा जितेर आएको खण्डमा बदलाको भावना जागृत भएर हिटलर हुनसक्ने चेतावनी पनि केही विश्लेषकले दिएका छन् । त्यति मात्र होइन, उहाँकै उपराष्ट्रपति जेडी भेन्सले केही वर्ष अघि ट्रम्पलाई अमेरिकी हिटलर भनेर दिएको उपमा अहिले पनि चर्चाको विषय बन्ने गरेको छ । ट्रम्पले जे पनि गर्न सक्छन्, अमेरिकाको प्रजातन्त्रमाथि धावा बोल्न सक्छन् भन्ने एकथरी विश्लेषकको विचार छ भने एकथरी भने ट्रम्पले नै अमेरिकालाई अरू उचाइमा पुर्‍याउँछन् भन्ने गरेका छन् । गत महिना ट्रम्पमाथि भएको हत्या प्रयासको केही सहानुभूति मत पनि ट्रम्पले पाउने सम्भावना पनि उत्तिकै छ । उता रिपब्लिकन पार्टीले पुरातन सोच र योजनासहितको प्रोजेक्ट २५ नामक एउटा कार्यक्रम ल्याउन लागेको कुराले उदारवादी मानिस झस्केका छन् । यो प्रोजेक्टले आप्रवासीको मत काटिने धेरै सम्भावना पनि छ । 

अब रह्यो स्वींग स्टेटको कुरा । अमेरिकाका ५० वटा राज्यमध्ये करिब आधा आधा रिपब्लिकन र डेमोक्रेटको आधार छ । तर अमेरिकामा छ वटा यस्ता राज्य छन् ती राज्यले चाहेकै व्यक्ति राष्ट्रपति बन्छन् । ती हुन् एरिजोना, जर्जिया, मिचिगन, नेभाडा, पेन्सिलभेनिया र विस्कन्सिन । यी छ राज्यको मतभार बढी पनि छ । यिनीहरूको मत कहिले कता र कहिले कता ढल्कने गरेको छ । त्यसैले यी निर्णायक राज्यको साथ जसले पाउँछ, त्यही व्यक्ति नै सेतो दरबारको मालिक मात्र होइन, विश्वको नेता बन्छ । 

अमेरिकी मतदाता अब नोभेम्बर ५ मङ्गलबार सम्पन्न हुने आम निर्वाचनको दीर्घ प्रतीक्षामा छन् । यो दिनले नै अमेरिकाको इतिहासको फैसला गर्नेछ । 

Author
कृष्णराज खनाल

पत्रकार खनाल अमेरिकामा बसेर गोरखापत्र अनलाइनका लागि समाचार लेख्नु हुन्छ ।