• २ माघ २०८१, बुधबार

नेपालगन्ज नाकाबाट चिनीको आयात

गुम्यो अठासी करोडभन्दा बढीको राजस्व

blog

सिराज खान 

नेपालगन्ज, साउन २१ गते । नेपालगन्ज नाकाबाट हुँदै आएको चिनीको आयात गत आर्थिक वर्ष २०८०/८१ मा घटेको छ । विगतका वर्षमा हरेक वर्ष ठुलो परिमाणमा भारतबाट चिनी आयात हुँदै आए पनि गत आवमा भने चिनीको आयात धेरै ठुलो परिमाणमा घटेको पाइएको छ ।  

नेपालगन्ज भन्सार कार्यालयका अनुसार अघिल्लो आव २०७९/८० मा यो नाकाबाट एक अर्ब ५४ करोड ६५ लाख ५६ हजार रुपियाँको १५ लाख ४६ हजार ५२६ किलो चिनी आयात भएकोमा गत आव २०८०/८१ मा १० करोड ७२ लाख आठ हजार रुपियाँको दुई लाख २५ हजार ६४३ किलो मात्र चिनी आयात भएको छ । 

नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी भन्सार अधिकृत पूर्णप्रसाद लम्सालले अघिल्लो आवको तुलनामा गत आवमा चिनीको आयात १३ लाख किलोभन्दा बढी घटेको देखिएको बताउनुभयो । 

उहाँले यसरी चिनीको आयात घट्दा भन्सार कार्यालयको ८८ करोडभन्दा बढी राजस्व गुमेको जनाउँदै अघिल्लो आव २०७९/८० मा चिनी आयातबाट ८८ करोड ६५ लाख ९९ हजार रुपियाँ राजस्व सङ्कलन भएकोमा गत आव २०८०/८१ मा सो घटेर ५० लाख ८० हजार रुपियाँ मात्र राजस्व सङ्कलन भएको बताउनुभयो । उहाँले यसरी गत आवमा चिनीको आयात यति धेरै किन घट्यो ? त्यसको अनुसन्धान गरिनुपर्ने बताउँदै अवैध आयात र चोरीपैठारी बढेकाले पनि वैध आयात घटेको हुन सक्ने बताउनुभयो । 

उता प्रहरीले केही दिनको फरकमा पटक पटक भारतबाट अवैध रूपमा भित्र्याइएको चिनी बरामद गर्दै आएको छ । केही महिनाअघि प्रहरीले भारतबाट तस्करी गरेर ल्याई नेपाली बोरामा भरेर बिक्रीका लागि राखिएको धेरै ठुलो परिमाणको चिनी बरामद गरेको थियो । दुई दिनअघि पनि प्रहरीले १६ क्विन्टल अवैध चिनी नेपालगन्जबाट बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

यी घट्नाबाट पनि चिनीको अवैध आयात र तस्करी नियमित रूपमा भइरहेको र सोही कारणले वैध रूपमा हुँदै आएको आयात घटेको र ठुलो परिमाणको राजस्वसमेत गुमेको स्थानीय नागरिकको गुनासो छ । 

नेपालगन्ज–११ का जावेद राईले चिनीको अवैध तस्करी र चोरी निकासी अत्यधिक बढेकाले वैध रूपमा हुँदै आएको आयात ह्वात्तै घट्न गएको बताउनुभयो । उहाँले सो सम्बन्धमा गहिरिएर छानबिन हुनुपर्ने माग पनि गर्नुभयो ।