• १२ असोज २०८१, शनिबार

सार्वजनिक बसको प्रदूषण जाँच

blog

सन्तोष सुवेदी

कास्की, साउन २० गते । पोखरा महानगरपालिकाभित्र सञ्चालित सार्वजनिक यातायातको प्रदूषण जाँचकाे काम सुरु गरिएको छ । यातायात व्यवस्था कार्यालयले पोखरा यातायात प्रालि अन्तर्गत सञ्चालित बसहरुको प्रदूषण परीक्षण गरेको हो ।

पोखरा यातायात प्रालि अन्तर्गत सञ्चालनमा रहेका तीन सय ७८ बसको प्रदूषण परीक्षण गरिने कार्यालयले जनाएको छ । प्रदूषण परीक्षणमा अनुत्तीर्ण सवारीहरुलाई पुनः मर्मतका लागि पठाइने र उत्तीर्ण भएपछि मात्र सञ्चालन अनुमति प्रदान गरिने यातायात व्यवस्था कार्यालयका निमित्त प्रमुख अशोक गौतमले जानकारी दिनुभयो । आगामी दिनमा विद्यालयका वसहरुमा पनि प्रदुषण जाँच गरिने उहाँले सुनाउनुभयो ।

पोखरा यातायात प्रालिका अध्यक्ष देउप्रसाद गुरुडले बसहरुले बढी धुँवा फालेको गुनासो पछि व्यवसायीले दुई लाख ५० हजारसम्म खर्च गरेर इन्जिन लगायत सबै परीक्षण गराएको जानकारी दिनुभयो । मापदण्ड भन्दा बाहिर रहेका सवारी साधन सञ्चालनमा रोक लगाउन सवारी साधनहरुको प्रदूषण जाँच  सुरु गरिएको हो ।  

कार्यालयका मेकानिकल इन्जिनियर अब्दुल्ला हवारीले बसहरुको सर्भिसिङपछि बसको अनुत्तीर्ण हुने दर कम भएको बताउनुभयो । कार्यालयले प्रदूषण बढी भएका तथा जाँच अनुत्तीर्ण भएका गाडी सञ्चालनमा रोक लगाउने जनाएको छ । इन्जिनियर हवारीका अनुसार परीक्षण मेसिनले गाडीको धुँवाको ‘डेन्सिटी’ हेर्ने र ३० प्रतिशत सम्म आउने उत्तीर्ण र त्यो भन्दा बढी आउने अनुत्तीर्ण हुने जानकारी दिनुभयो ।