• २६ असार २०८२, बिहिबार

बाँझो जमिनमा सामुहिक खेती

blog

सामुहिक खेती गर्न पाएपछि प्रसन्न मुद्रामा ओमकुमारी बोटे । तस्बिर:अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, असार ३ गते । तनहुँको व्यास नगरपालिका–१० दुम्सीस्थित शिसुवा भतेरी कृषि सहकारीले खेर गएको जमिनमा सामुहिक खेती गरेर विपन्न समुदायको आयवृद्धि गर्दै आएको छ । सोही ठाउँको मादीनदीको किनार नजिकैको शिसुवा भतेरीमा रहेको बाँझो जमिनमा सामुहिक खेती गरी विपन्नको आय वृद्धि गर्न सहकारीले सहयोग पुर्‍याएको हो ।

सहकारीले सामुहिक खेती सुरु गरेपछि आफ्नो जमिन नभएर धान, मकै तथा आलु लगाउन अँधिया गर्न खेत खोज्दै जानुपर्ने बाध्यता हटेको छ । सहकारीले अतिसिमान्तकृत बोटे, अल्पसङ्ख्यक दरै, दलित तथा विपन्न व्यक्तिको अधियाँ खेती गर्नुपर्ने बाध्यताको अन्त्य गर्दै निशुल्क रूपमा सामुहिक खेती गर्ने अवसर दिएको छ । 

विपन्नको आयआर्जनका लागि वडा कार्यालयले १० वर्षका लागि सो सार्वजानिक जग्गा निःशुल्क प्रयोग गर्न दिएपछि सात वर्ष अघि देखि सामुहिक खेती सुरु गरिएको वडा सदस्य तथा सहकारीका अध्यक्ष यज्ञप्रसाद शर्माले जानकारी दिनुभयो । 

आय आर्जनका लागि ७० हजार रुपियाँमा जमिनलाई सम्माएर खेत बनाइएको र २५ हजारको खेतला प्रयोग गरी एक लाखमा रुपियाँमा लगानी गरी सहकारीले पाँच वर्ष अघि खेती शुरुवात गरेको उहाँले जानकारी दिनुभयो । सहकारीले राम्रो कार्य गरेकाले गत वर्ष सामुहिक खेतीका लागि सहज बनाउन झण्डै १७ लाख रुपियाँ पर्ने ट्याक्टर व्यास नगरपालिकाले सहयोग गरेको अध्यक्ष शर्माले जानकारी दिनुभयो । 

कृषि क्रान्ति गर्नका लागि सामुहिक खेती सञ्चालन गरिएको र क्षेत्रफल विस्तार गर्दै लैजाने सहकारीले जनाएको छ । चरिचरन बन्द गरेर स्थानीय उपभोक्ताले नै प्रयोग गर्नुस् भनेर भेला राखेर सहकारी मार्फत खेती गरिएको निवर्तमान वडाध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिनुभयो । सामुहिक खेतीले मेरो जग्गा छैन मैलै काम पाईन भन्ने चिन्ता सहकारीले सामुहिक खेती गरेपछि हटेको उहाँले बताउनुभयो । 

सहकारीले पराल र घाँस सोही ठाउँ स्थित  गौ संरक्षण केन्द्रलाई दिने गरेको छ । केन्द्रले गाईको मल तथा मुत्र सामुहिक खेतीका लागि दिने गरेको छ । सहकारीका अध्यक्ष शर्माले भन्नुभयो, ‘‘स्थानीय गाईको मल र मुत्र प्रयोग गरिएकोले खेती राम्रोसँग फष्टाएको र रोग पनि लागेको छैन ।’’ निम्न आय भएका कृषकलाई सहकारीमा आबद्ध गराएर आयवृद्धिका लागि गर्नको लागि विभिन्न तरकारी, धान तथा माछा पोखरी सहकारीले निर्माण गरेको छ । १२ माछा पोखरीबाट वार्षिक रूपमा दुई लाखको माछा बिक्री गरेको सहकारीले जनाएको छ ।

सहकारीमा एक सय १० जना आबद्ध छन् । आफ्नो जमिन नहुने विपन्नका लागि भने सामुहिक खेतीमा आबद्ध गराएको छ । ३० रोपनी सार्वजानिक जग्गा विपन्नको प्रयोग गर्नको लागि दिइएको वडा कार्यालयले जनाएको छ । विपन्न मात्रै नभई कृषिमा आधुनिक औजारको प्रयोग गरि लागत घटाउन गाउँका सबैलाई सामुहिक खेतीमा आबद्ध गराइने सहकारीले जनाएको छ । 

सहकारीका अनुसार विपन्न समुदायले धान, आलु र मकै खेती गरेका छन् । खेती गरेपछि तरकारी किनेर ल्याउन नपरेको पशुपालन तर्फ कृषकको आकर्षण बढेको छ । सामुहिक खेती गरेपछि अन्न किन्नका लागि रकम खर्च गर्नु नपरेको ओमकुमारीले बोटेले बताउनुभयो । बोटेले भन्नुभयो, ‘अधियाँ गर्नुपर्दा छ महिना मात्रै खान पुग्थ्यो अहिले एक वर्षको लागि पुगेकोले परिवार पाल्न सहज भएको छ ।’