नवराज श्रेष्ठ
रामेछाप, असार ३ गते । रामेछापको खाँडादेवी गाउँपालिका–८ गागल कालेमानेका जनकलाल तामाङले ७ वर्ष दक्षिण कोरियामा रोजगारी गर्नुभयो । कोरियामा रोजगारी गर्दा तामाङको मासिक तलब नेपाली साढे दुई लाख रुपियाँ थियो ।
७ वर्षको रोजगारीपछि तामाङ नेपाल फर्कनुभयो । उहाँ नेपाल फर्किएपछि विश्वभर फैलिएको सङ्क्रामक रोग कोरोना भाइरस कोभिड–१९ का कारण फेरी कोरिया जान सक्नुभएन ।
कोरियामा मासिक साढे दुई लाखसम्म कमाइ हुने तामाङ कोरोनाका कारण नेपालमा बेरोजगार बन्नुभयो । त्यसपछिको एक वर्षभन्दा बढी समय उहाँको रोजगारीको खोजीमै बित्यो । तर उहाँले भनेको जस्तो रोजगारी कतै पाउनुभएन । जागिर खोज्दा खोज्दै थकित तामाङको मनमा आफूसँग भएको केही रकम लगानी गरी आफ्नै बारीमा कृषि कर्म गर्ने योजना फुर्याे ।
सोही योजना अनुसार उहाँले आफ्नै जग्गामा व्यावसायिक मेवा खेती सुरु गर्नुभयो । तर उहाँलाई समाजले प्रोत्साहन हैन विभिन्न कुरामा हतोत्साहित बनायो । ‘कोरियामा महिनाको साढे दुई लाख कमाइ गर्ने मन्छे, गाउँमा मेवा खेती गरेर किन बिग्रेको होला जस्ता कुराहरू आयो, यसले त्यसबेला अत्यन्तै दुखी र कमजोर बनायो’, उहाँले भन्नुभयो ।
तामाङले आइपर्ने समस्याहरूको सामना गर्दै निरन्तर आफ्नो योजना अनुसार व्यावसायिक मेवाको खेती सुरु गर्नुभएको तीन वर्ष बढी भइसक्यो । सुरुमा परिवारको सहयोगमा एक्लै मेवाको खेतीमा लगेको भए पनि अहिले उहाँको नेतृत्वमा २० जनाको टि.यम.जि.एग्रो कृषक समूह बनेको छ । यही समूहले मेवा खेतीको विस्तार गरिरहेको छ । हालसम्म यो समूहले १५० रोपनीभन्दा बढी क्षेत्रमा मेवा खेती विस्तार गरिसकेको छ । अहिले बगैँचामा रहेका आठ हजार बोटमा रहरलाग्दा मेवा फलेका छन् । मेवा खेतीमा ५० लाखभन्दा बढी लगानी भइसकेको र हालसम्म ३६ लाख रुपियाँको मेवा बिक्री भएको उहाँले बताउनुभयो ।
यो समूहको कृषि कर्मले यति बेला जिल्लासम्म चर्चा पाएको छ । मेवा सबैले रुचाउने फल भएकाले बजारको खासै समस्या छैन । रोपेको ५० दिनदेखि फल लाग्न थाल्ने मेवाले ७ महिनामा उत्पादन दिन्छ । एक पटक लगाएको बिरुवाले तीन वर्षसम्म राम्रो उत्पादन दिने तामाङले बताउनुभयो । मेवा बगैँचामा पुग्नेले प्रतिकेजी ५० देखि ६० रुपियाँमा मेवा पाउँछन् । बगैँचाबाट बजारमा पुगेको मेवाले प्रतिकेजी १५० सम्म मूल्य पाएको तामाङले बताउनुभयो ।
मेवाको उत्पादन बढ्न थालेपछि जनकलाल तामाङले नेतृत्व गरेको टि.यम.जि.एग्रो कृषक समूहले मेवाको जुस उत्पादन गर्न थालेको छ । २० जना आबद्ध यो समूहले सञ्चालन गरेको मेवाको जुस प्रशोधन सेन्टर कृषि तथा पशुपन्छी विकास मन्त्रालय, ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना, आर्थिक कोरिडोर कार्यालय धनकुटाको ४० लाख रुपियाँ अनुदान र समूहको ६७ लाख रुपियाँ लगानीमा सञ्चालन गरिएको सञ्चालक तामाङले बताउनुभयो।
उहाँले भन्नुभयो, “मेवाको खेती राम्रो हुँदै गयो । व्यापक रूपमा विस्तार पनि गरियो । मेवाको उत्पादन बढेपछि यसको जुस उत्पादन गर्ने सोच समूहमा आयो । सोही सोच अनुसार जुस उत्पादन थालेका छौँ ।” गाउँ घरमा फलेका मेवालगायत अन्य फलफूलको जुस उत्पादन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने उद्देश्य टि.एम.जी एग्रो कृषक समूहको छ ।