• १२ असोज २०८१, शनिबार

सांसद ढकालद्वारा नदी कटानको अवलोकन

blog

बाँके क्षेत्र १ का प्रतिनिधिसभा सदस्य सूर्य ढकाल राप्ती नदीले कटान गरेको क्षेत्रमा स्थलगत अवलोकन गर्नुहुँदै । तस्बिरः गोविन्द शर्मा

गोविन्द शर्मा 

बाँके, साउन २० गते । बाँकेको राप्तीसोनारी गाउँपालिका –७ स्थित खल्ला झगडियामा राप्ती नदीले तीव्र रूपमा कटान गरिरहेको क्षेत्रमा कटान नियन्त्रणका लागि सो क्षेत्रका प्रतिनिधिसभा सदस्य सूर्य ढकालले सहयोग गर्ने बताउनुभएको छ । 

सांसद ढकालले नदी कटान क्षेत्रमा स्थलगत अध्ययन गर्नुभएको छ । सोमबार बिहान ९ देखि १० बजेसम्म नदीले तिव्र कटान गरिरहेको स्थानमा अनसन बस्ने पनि उहाँले बताउनुभयो ।  

सांसद ढकालले भन्नुभयो, ‘नदीमा पानीको बहाव बढेमा राप्तीसोनारीको वडा ७ र नरैनापुर गाउँपालिका प्रभावित हुने भएकाले नदी कटान नियन्त्रणका लागि राज्यको ध्यान खिच्न कटान स्थलबाटै ध्यानाकर्षण गर्न लागिएको छ ।’ 

उहाँले संसदमा समेत आफूले यस विषयमा सरकारको ध्यानाकर्षण गराएको भन्दै यो विषयलाई राप्तीसोनारी र नरैनापुरको मात्र नभई बाँके जिल्लाको पनि सरोकार जोडिएको बताउनुभयो । 

नदी कटान नियन्त्रणका लागि १५ दिनसम्म हस्ताक्षर सङ्कलन गरी प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने तयारी गरिएको उहाँले बताउनुभयो । तत्काल एक करोड रुपियाँ बजेट हुने प्राप्त भएमा ५०० मिटर क्षेत्रमा तटबन्धन गरेर समस्याको समाधान गर्न सकिने उहाँको भनाइ छ । 

यसअघि सो ठाउँमा अस्थायी तटबन्ध भत्काएकोमा बजेट अभावले पुनः निर्माण नगरिएपछि फेरि कटान तीव्र भएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले नदीले तीव्र कटान गरिरहेकाले खेतीयोग्य जमिन र बस्तीमा नै प्रवेश गर्ने जोखिम बढेको बताउनुभयो ।