• ८ मंसिर २०८१, शनिबार

लाखेनाचको रौनक

blog

दोलखा समाचारदाता

दोलखा, साउन २० गते । दोलखाको सदरमुकाम चरीकोट बजारको चोक र सडकमा यतिखेर लाखेनाच प्रदर्शन सुरु भएको छ । प्रत्येक दिनको साँझपख प्रदर्शन गरिने लाखेनाच हेर्न बालबालिका, ज्येष्ठजन, युवालगायत भेला हुँदा चरीकोट बजारमा रौनक देखिने गरेको छ । 

नेवार समुदायका युवाले २०१५/१६ सालबाट चरीकोटमा सुरु गरेको लाखेनाच प्रदर्शनलाई अहिले लालीगुराँस युवा क्लबले निरन्तरता दिइरहेको क्लबका अध्यक्ष प्रवीण श्रेष्ठले बताउनुभयो । कृष्ण जन्माष्टमिको भोलिपल्टसम्म लगातार प्रदर्शन गरिने लाखेनाचले सांस्कृतिक किंवदन्तीलाई जीवन्त राख्न र सांस्कृतिक परम्परासहित बजारमा रौनक ल्याउन क्लबले लाखेनाच प्रदर्शनलाई निरन्तरता दिएको उहाँको कथन रहेको छ । 

लाखेनाचले बजारको रौनक थप्ने र दोलखामा आउने पर्यटकलाई थप आकर्षित गर्ने गरेको छ । शुक्रबार गठेमङ्गल (घण्टाकर्ण) को साँझ नाट्यश्वरीको पूजा गरी नेवारी परम्परा अनुसार सुकुल भोज गरेर लाखेनाच पदर्शन गरिने परम्परा रहेको चरीकोट गुठीका अध्यक्ष रामदास श्रेष्ठले बताउनुभयो । 

 ऐतिहासिक सहर दोलाखा किराँतकालदेखि छुट्टै राज्य रहेको ऐतिहासिक सहर दोलखामा प्रदर्शन गरिने लाखेनाचकै सिको गर्दै चरीकोटमा प्रदर्शन गर्न थालिएको हो । चरीकोटमा प्रदर्शन गरिने लाखेनाच र दोलखामा प्रदर्शन गरिने लाखेनाचको तरिका र बाजा भने फरक रहेको छ । एक अभिलेख अनुसार चरीकोटमा पहिला डम्बरबहादुर श्रेष्ठले लाखेनाच सुरु गर्नुभएको हो । त्यसपछि भक्तबहादुर श्रेष्ठ, हीरालाल श्रेष्ठ, देवकुमार श्रेष्ठ, दानबहादुर श्रेष्ठ, नारायणलाल श्रेष्ठ, रामकृष्ण श्रेष्ठलगायत अग्रजले यसलाई निरन्तरता दिनुभएको थियो । अहिले लालीगुराँस युवा क्लबमा आबद्ध युवाले नाच्ने गरेका छन् । 

लाखेलाई कंसकी बहिनी पूतना मानिन्छ । यशोदाको गर्भबाट जन्मिएका कृष्णले आफूलाई मार्ने भएकाले कंसले आफ्नी बहिनी पूतनालाई कृष्ण मार्न पठाएको तर कृष्णले नै उनलाई मारिदिएको धार्मिक ग्रन्थमा उल्लेख छ । सोही परम्पराका आधारमा कृष्ण जन्माष्टमिको भोलिपल्ट कृष्णले लाखेलाई मारेर जात्राको अन्त्य गरिँदै आएको क्लबका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।