• १२ असोज २०८१, शनिबार

घाँस काट्न गएका खड्का मृत फेला

blog

जनार्जन खत्री

सर्लाही, साउन १९ गते । सर्लाहीको लालबन्दीमा घाँस काट्न जङ्गल जानुभएका खिलराज खड्का शनिबार बिहान मृत फेला पर्नुभएको छ । 

लालबन्दी नगरपालिका–७, का ६० वर्षीय खड्का जङ्गलमा मृत फेला पर्नुभएको हो । खड्का लालबन्दी नगरपालिका –८, स्थित सतभैया गाउँनजिकको लालबन्दी साझेदारी वनभित्र मृत अवस्थामा फेला पर्नुभएको प्रहरीले जनाएको छ । 

उहाँ बाख्रालाई घाँस काट्न भनी शुक्रबार बिहान ९ बजेतिर घरबाट निस्कनुभएको थियो । खड्का साँझ अबेरसम्म पनि घर फर्किएर नआएपछि परिवारका सदस्यले इलाका प्रहरी कार्यालय लालबन्दीमा खबर गरेका थिए । 

प्रहरी र स्थानीय मिलेर खोजी गर्नेक्रममा शनिबार बिहान खड्काको शव बरामद भएको छ । साइकलमा घाँस बाँधिएको र त्यही स्थानमा ढलिरहेको अवस्थामा खड्काको शव फेला परेको प्रहरीले जनाएको छ । 

घटनास्थलमा पुग्नुभएका सर्लाही प्रहरीका प्रमुख (एसपी) रवीन्द्रबहादुर सिंहले खड्काको शरीरमा कुनै प्रकारको चोटपटक नदेखिएकाले घटना शङ्कास्पद नरहेको बताउनुभयो । मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको छ । पोष्टमार्टम रिपोर्टबाट खड्काको मृत्युको कारण खुल्ने प्रहरी उपरीक्षक सिंहले बताउनुभयो ।