• १२ असोज २०८१, शनिबार

मुण्डे–कीर्तिपुर–बन्दिपुर सडकखण्ड कालोपत्रे

blog

देवचुलीको मुण्डे–कीर्तिपुर–बन्दिपुर सडकखण्डमा गरिएको कालोपत्रे । तस्बिर: मिना कँडेल

मीना कंडेल

कावासोती, साउन १९ गते । नवलपुरको देवचुली मुण्डे–कीर्तिपुर–बन्दिपुर सडकखण्ड कालोपत्रे भएको छ । कालोपत्रे हुँदा यहाँका स्थानीयलाई सहज भएको छ । 

जिल्लाको अग्लो डाँडा देवचुली र बरचुलीको काखमा पर्ने कीर्तिपुर, बन्दिपुर, मौलाथुम्कीसहितका ६ गाउँका बासिन्दालाई प्रदेश सरकारको लगानीमा निर्माण भएको बाटोले सुविधा थपेको हो ।

देवचुली वडा –६, का वडा अध्यक्ष मीनबहादुर सोतीले सुविधा नभएर गाउँ छाडी बजार झर्नेहरूको सङ्ख्यामा कमी आएको बताउनुभयो । पहिले बाटो नभएकै कारण सुविधा खोज्दै स्थानीय बजार भर्ने गरेको भए पनि अहिले सडकको सुविधा क्रमशः गाउँमा आएकाले गाउँमै आय आर्जनलाई जोड्ने क्रियाकलाप गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

पूर्व–पश्चिम राजमार्गको दलदलेबाट ११ किलोमिटरको दूरीमा रहेको गाउँमा केही वर्ष अघिसम्म बजारबाट निकट भएर पनि बाटो नपुग्दा विकट थियो । सडक निर्माण पूर्व कीर्तिपुरदेखि बन्दिपुरसम्म सडकको ट्रयाक खोलिएको थिएन । सडक निर्माण नहुँदा विकट थियो । करिब दुईसय मिटर क्षेत्रमा नयाँ ट्रयाक खोली दुई गाउँलाई जोडिएको छ ।

जिल्लाको देवचुली नगरपालिका–६ कीर्तिपुरका दिलबहादुर सोमैलाई गण्डकी प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक सडक योजनाबाट गाउँमा कालोपत्र बाटो पुग्दा खुसी लागेको छ ।  कीर्तिपुर हुँदै बन्दिपुर आउने बाटो कालोपत्रे भएपछि व्यवसाय राम्रो हुँदै गएको स्थानीय होमबहादुर दिसुवाले बताउनुभयो । 

केही वर्ष अघिसम्म बाटो कालोपत्र नहुँदा तीन चार घण्टा लाएर हिँड्नुपर्ने अवस्था थियो । अहिले आँगन छेउमा कालोपत्र सडक बनेको छ जसले सडक निर्माण भएपछि यहाँ कृषिजन्य वस्तु, शिक्षा, राष्ट्रिय प्रसारण लाइनजस्ता विकासका पूर्वाधारले छोइरहेको छ । अहिले कीर्तिपुर, बन्दिपुर, हर्कपुर मौलाथुम्कीलगायत स्थानमा उत्पादन भएका विभिन्न कृषिजन्य वस्तु निर्यातमा सहजता थपिएको छ ।

गण्डकी प्रदेशसभा सदस्य रोशनबहादुर गाहाले गण्डकी प्रदेश सरकारको योजनाअनुसार आफ्नो पहिलो कार्यकालमा एक निर्वाचन क्षेत्र एक सडक अन्तर्गत देवचुलीको मुण्डेदेखि मौलाथुम्की सम्म ११ किलोमिटर सडक कालोपत्रे गर्ने काम सम्पन्न भएको बताउनुभयो । यस योजनाले देवचुली –५, र ६ नम्बर वडाका गाउँलाई सुविधा भएको उहाँले बताउनुभयो । 

भौतिक पूर्वाधार विकास कार्यालय नवलपुरका निमित्त प्रमुख सन्तोष अर्यालले वि.स. २०७६ मा २८ करोड २३ लाखको लागतमा रायमाझी कन्स्ट्रक्सनले सडक निर्माणको ठेक्का पारी कामअघि बढाएको बताउनुभयो ।