• १२ असोज २०८१, शनिबार

पहिरोले गोठ पुर्दा नौ बाख्रा मरे

blog

पहिरोले क्षति गरेको गोठ । तस्बिर: राजु लामिछाने

राजु लामिछाने

रुकुमपश्चिम, साउन १९ गते । अविरल वर्षाको कारण आएको पहिरोमा परेर रुकुमपश्चिमका विभिन्न बस्तीहरू पहिरोको उच्च जोखिममा रहेको छ । पहिरोले एक गोठ पुरिदा नौ बाख्रा मरेका छन् । 

गएराति मुसीकोट नगरपालिका–८ का लालजित बुढाको बाख्रा गोठ पहिरोले पुरिदा गोठमा रहेका नौ बाख्रा मरेको वडा अध्यक्ष जयबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँमाथिको पहिरोका कारण यहाँको लसुनबारी र क्वाम्माखोला बस्ती उच्च जोखिममा रहेका छन् ।

लसुनबारी टोलका ३५ घर पहिरोको जोखिममा रहेका छन् भने १० परिवार विस्थापित भएका छन् । त्यसैगरी क्वाम्माखोलाका चार घरपरिवार विस्थापित भएका छन् । उनीहरूले घरको सामानहरू निकालेर आफन्तको घरमा बसेको वडा अध्यक्ष थापाले जानकारी दिनुभयो । 

सोही वडाका वडा सदस्य हिमकुमार पाण्डेका अनुसार बाढी र पहिरोको कारण यस वडा क्षेत्रमा रहेका काठे पुल र ट्रस पुल जोखिममा रहेका छन् । दुई वटा ट्रस पुल र एउटा काठेपुल पहिरो र बाढीको कारण जोखिममा रहेको उहाँले जानकारी दिनुभयो । 

पहिरोकै कारण सोही वडाको घट्टेखोला, तिर्सिङ, उधिनढुंगा लगायतका टोलमा समेत क्षति गरेको छ । यहाँका सात घरमा पहिरोले क्षति गरेको उहाँले उल्लेख गर्नुभयो । यसका साथै खोलामा आएको बाढीले खेतीयोग्य जमिन चिरा पारेको छ भने धान खेतीमा क्षति गरेको छ । वडामा भएको क्षतिका विवरण सङ्कलन भइरहेको वडा कार्यालयले जानकारी दिएको छ ।