• ७ मंसिर २०८१, शुक्रबार

लोकतन्त्र रक्षामा नागरिक भूमिका

blog

संसदीय लोकतन्त्र विश्वमै सर्वोत्कृष्ट व्यवस्था मानिएको छ । अन्य व्यवस्थाको तुलनामा यो व्यवस्था राम्रो मानिएको छ । जनताबाट निर्वाचित प्रतिनिधिले शासन गर्ने भएकाले यसमा जनभावना प्रतिविम्बित हुन्छ । जनता सार्वभौम हुन्छ । उसमा रहेको अन्र्तनिहित शक्तिको प्रयोग चुनिएका जनप्रतिनिधिले गर्छन् । आवधिक निर्वाचनले यसलाई नवीकरण र सबलीकरण गर्छ । जनप्रतिनिधिले खराब आचरण गरेमा अर्को निर्वाचनमा जनताबाट दण्डित हुन्छन् । लोकतन्त्रमा जनता नै सर्वोपरि हुन्छ । 

फ्रान्सका प्रसिद्ध राजनीतिशास्त्री मन्टेस्क्यूले भनेका थिए, “जनताको समूहमा सर्वोच्च शक्ति हुनुलाई नै लोकतन्त्र भनिन्छ ।” बेलायतका चर्चित राजनेता चर्चिलले भनेका छन्, “योभन्दा राम्रो व्यवस्थाको आविष्कार अहिलेसम्म भएको छैन ।” लोकतन्त्रलाई अझ बढी लोकतान्त्रिक बनाउनु नागरिकको हितमा छ । लोकसम्मतिलाई सम्मान हुने माध्यमको विकास नभएसम्म लोकतन्त्र नक्कली हुन्छ । अलोकतान्त्रिक विधिबाट धाँधली गरी धनको बिटामा नागरिकको मत खरिद गरी सत्तामा जानु निरङ्कुश र सर्वसत्तावाद हुन्छ । 

अर्का विद्वान् हन्डिलको भनाइ छ, “अहिलेको लोकतन्त्रका नेताले आफूलाई अक्षम र भ्रष्टाचारीबाटै परिचित बनाएका छन् ।” नेताले जनताको मत खरिद गरेर उसको स्वविवेकमाथि अत्याचार गरेका छन् । विभिन्न प्रलोभन, नातागोता, जातीयताजस्ता हथकण्डा अपनाएर मत लिने गरेका छन् । यसैले गर्दा लोकतन्त्र सङ्कटग्रस्त अवस्थामा पुगेको छ । निर्वाचनका खेलाडीले चुनाव खर्चिलो भएको बताइरहेका छन् । निर्वाचन आयोगले दिएको खर्चको सीमाले चुनाव धान्ने अवस्था नरहेको नेताले बताउँदै आएका छन् । 

नेताको अभिव्यक्ति सुनेर मतदाता लज्जाबोध गरिरहेका छन् । लोकतन्त्रको पुनः बहालीपछि २०४८ सालमा भएको संसदीय चुनावमा कुनै–कुनै ठाउँमा दलीय अस्वस्थ्य प्रतिस्पर्धा भए पनि प्रायः निष्ठावान् नेता विजयी भएका थिए । खासगरी दोस्रो जनआन्दोलनपछि मनी र मसलको ज्यादै प्रयोग भइरहेको छ । राजनीतिक निष्ठा भएका नेता–कार्यकर्ता बिस्तारै किनारा लाग्दै छन् । बिस्तारै चुनाव लोकतन्त्रभन्दा धनतन्त्रतिर रूपान्तरित हुँदै छ । निर्वाचित पद व्यापारी र ठेकेदारको कब्जामा गएको सन्देश प्रवाह भइरहेको छ । 

आसन्न स्थानीय निर्वाचन मात्र होइन अब क्रमशः हुने सङ्घीय र प्रदेशको निर्वाचन झन् भयावह हुनेछ । पैसामा टिकट किनेर शासनसत्तामा जान चाहनेले केन्द्रीय नेतृत्वसित बार्गेनिङ गरिरहने छन् । राजनीतिक पृष्ठभूमिबाट निर्वाचित हुनेहरू आर्थिक सहयोग गर्नेको गुन तिर्न भ्रष्टाचारमा लिप्त हुनुपर्ने बाध्यता हुन्छ । लोकतन्त्रको आधारस्तम्भ तथा जनताको दैनिक समस्यामा साथ दिने स्थानीय सरकार यस्तै अलोकतान्त्रिक तरिकाबाट बन्यो भने आगामी निर्वाचन जनताको तारो हुनेछ । यो लोकतन्त्रका लागि खतरनाक हुनेछ । 

लोकतन्त्रमा नागरिक बलियो हुन्छ तर यहाँका नागरिक निर्धो हुँदै गएका छन् भने दलका सीमित नेता शक्तिशाली बन्दै छन् । दल बलियो हुँदैमा लोकतन्त्र बलियो भने हुँदैन । दलका नेता जसरी शक्तिशाली र धनी हुँदै गएका छन् त्यसरी नै जनता शक्तिशाली हुनुपर्ने हो । विडम्बना जनताको दैनिकी दिनानुदिन महँगो र कमजोर हुँदै गएको छ । 

नेपालका दलका स्वार्थ एकै किसिमका छैनन् । उनीहरू सीमित स्वार्थी घेराको मात्र प्रतिनिधित्व गर्छन्, आम नागरिकको भावनाको होइन । दलको मूलभूत स्वार्थ समग्र जनताको हित र स्वार्थ हुनुपर्ने हो तर त्यसो हुन सकिरहेको छैन । यसले लोकतन्त्रलाई बलियो नबनाई कमजोर बनाउँछ । दलको काम नागरिकको हितलाई प्रवद्र्धन गर्ने, लोकतन्त्रलाई सुदृढ गर्नुपर्ने हो । दलीय क्रियाकलाप र नागरिकको आकाङ्क्षालाई एकै ठाउँमा राखेर मूल्याङ्कन गर्ने हो भने नागरिक र दल विपरीत दिशामा हिँड्दै छन् । त्यो दूरीमा कम नभएमा खतरनाक स्थिति पैदा हुन सक्छ । 

लोकतन्त्रलाई दलले खाली सत्तारोहणको बाटो मात्र बनाएको देखिन्छ । तिनीहरूले नागरिकलाई शिक्षाको माध्यमबाट चेतनशील बनाउन चाहँदैनन् । नागरिक चेतनशील भए आफ्नो अर्थ र भूमिका नरहने उनीहरूको जिकिर छ । लोकतन्त्र बलियो हुन दलभन्दा नागरिकको भूमिका उन्नत हुनुपर्छ । अहिले झैँ दल र नागरिकबीचको दूरी बढ्दै गयो भने लोकतन्त्र असुरक्षित हुन्छ । बहुदल त रहला तर लोकतन्त्र नरहन सक्छ । दलबाट नागरिकको आकाङ्क्षा पूर्ण गर्ने सवालमा लोकतान्त्रिक क्रियाकलाप प्रदर्शन भइरहेको छैन । दलका नेता कुनै नागरिकको सानो काम गरिदिनुप¥यो भने त्यसलाई दयाभाव, माया र निगाह भएको सम्झन्छन् । 

जनताको मतदानबाट प्रतिनिधि बन्न पुगेकाहरू पदमा पुगेपछि जनताप्रतिको उत्तरदायित्व बिर्सिन्छन् । पदासीन भएपछि मालिकजस्तै व्यवहार गर्छन् । निर्वाचनका बेला मत माग्न जाँदा जनतासमक्ष झुकेर दुई हात जोडी पाउ पर्न खोज्छ, मतको याचना गर्छ तर मतदानपछि त्यो पूरै बिर्सन्छ । यसरी जनतालाई बिर्सिने नेतालाई सचेत नागरिकले ठेगाना लगाउने निर्वाचनकै बेला हो ।

जनताले यस्ता नेतालाई पहिचान गरी बहिष्कार गर्नुपर्छ । भ्रष्ट र दलबदल गर्ने नेतालाई नो भोटको नीति प्रयोग गर्नुपर्छ । लोकतन्त्रप्रति समर्पित आस्थावान् र जनताको सुख–दुःखमा साथ दिने नेतालाई स्वविवेकले मतदान गर्नुपर्छ । क्षणिक प्रलोभनमा परेर पछि पछुताउने काम गर्नुहुँदैन । 

लोकतन्त्र बाँचिरह्यो भने हाम्रा सन्ततिले पनि लोकतान्त्रिक अधिकार उपभोग गर्न पाउनेछन् । संसदीय लोकतन्त्रले नै जनताका सबै आकाङ्क्षा परिपूर्ति गर्छ भन्ने सन्देश छाड्न सकियो भने हाम्रा सन्ततिले पनि त्यसको जगेर्नामा सघाउ पु¥याउँछन् । असंसदीय र अलोकतान्त्रिक व्यवस्थाले मुलुकमा निरङ्कुशता र सर्वसत्तावाद लाद्नेछ । यसतर्फ सबै सचेत भई स्थानीय निष्कर्षमा स्वच्छ, इमानदार र लोकतान्त्रिक उम्मेदवारलाई विजयी गराई लोकतन्त्र सुरक्षित र बलियो पारौँ । 



Author

रामनारायण देव