• २ माघ २०८१, बुधबार

चार वर्षमा दुई पिल्लर

blog

छेडागाड नगरपालिका–१ र ४ जोड्ने पुल चार वर्षदेखि अलपत्र अवस्थामा ।

खलङ्गा समाचारदाता 

जाजरकोट, साउन १८ गते । यहाँको साल्मा खोलाको पक्की पुल निर्माण चार वर्षदेखि अलपत्र परेको छ । छेडागाड नगरपालिका–१ र ४ जोड्ने साल्मा खोलामा पुल निर्माणको जिम्मा लिएका निर्माण व्यवसायीले बिचैमा काम छोडेपछि करिब चार वर्षदेखि अलपत्र परेको हो । 

छेडागाड नगरपालिका, जुनीचाँदे, कुसे गाउँपालिकाका अधिकांश बासिन्दालाई यातायातमा सहजता ल्याउन छेडागाड नगरपालिकाले पहिलो कार्यकालमा साल्मा खोलामा प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेटबाट करिब ८० लाखभन्दा बढी रकम खर्च गरी कजवे निर्माण गरेको थियो । 

असारमा निर्माण गरेको कजवे साउनको भेलले बगाएपछि बर्खाको समयमा सर्वसाधारणले सहज रूपमा आवतजावत गर्न पाएका थिएनन् । यहाँका बासिन्दाको माग अनुसार पूर्वाधार विकास कार्यालयले साल्मा खोलामा पुल निर्माण गर्न नेपाल मेघा सिस्ने जेभी नेपालगन्जसँग २०७८ साल असोज २९ गते सम्झौता गरेको थियो । चार करोड ८८ लाख एक हजार रुपियाँमा २०८० साल माघ २८ गते सम्पन्न गर्ने जिम्मा लिएको निर्माण व्यवसायीले दुई वटा पिल्लरको काम गरेर बिचमै छोडेर अलपत्र परेको छ ।

जुनीचाँदे गाउँपालिका, कुसे गाउँपालिका र छेडागाड नगरपालिकाका सबै वडाका बासिन्दाको मुख्य सडकको साल्मा खोलामा पुल नभएपछि नेपालगन्ज, सुर्खेत, काठमाडौँ आवतवाजत गर्न, स्थानीय तहमा सेवा लिन आउँदाजाँदा स्थानीयले सास्ती भोग्ने गरेका छन् । छेडागाड नगरपालिका–१ का दीपक रावतले छेडागाड पालिकाको प्रवेशद्वार साल्मा खोलामा निर्माणाधीन पुल निर्माण व्यवसायीको लापर्बाहीले अलपत्र परेपछि छेडागाड नगरपालिका, जुनीचाँदे, कुसे गाउँपालिकाका बासिन्दाले बर्खाको समयमा दुःख पाउने गरेका छन् । छेडागाड नगरपालिका प्रमुख रत्नबहादुर खड्काका अनुसार निर्माण व्यवसायीसँग पुल निर्माणबारे कुराकानी भइरहेको बताउनुभयो । उहाँले स्थानीय प्रशासन, पूर्वाधार विकास कार्यालय तथा सरोकारवाला निकायले पहल गरिदिन अनुरोध गर्नुभयो । 

छेडागाड नगरपालिका–१ र २ बासिन्दाले प्रशासनिक केन्द्र आउनजान वैकल्पिक बाटो नहुँदा खोलामै पस्नुपर्ने बाध्यता छ । दुई वर्षको समयावधि दिएपछि म्याद सकिएलगत्तै म्याद थप गरी बनाउने प्रतिबद्धता गरे पनि पुलको काम सुरु नगर्दा जोखिम मोलेरै सवारीसाधन खोलामा हाल्ने गरेका छन् । 

पूर्वाधार विकास कार्यालयका प्रमुख सोहिन्दर यादवका अनुसार २०८० असार मसान्तसम्म म्याद थप मागेपछि १३ औँ संशोधनले निर्माणाधीन अवस्थाका योजनाको म्याद थप गर्ने व्यवस्था अनुसार नेपाल मेघा सिस्ने जेभी नेपालगन्जले म्याद थपको निवेदन दिएपछि म्याद थप्दासमेत पुल निर्माणको काम सम्पन्न हुन सकेको छैन ।