• ३० भदौ २०८१, आइतबार

लघुकथा समाजद्वारा पुरस्कार तथा सम्मान घोषणा

blog

काठमाडौँ, साउन १७ गते। लघुकथा समाज, नेपालद्वारा प्रदान गरिँदै आएका विविध पुरस्कार र सम्मानमध्ये ‘पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान–२०८१’ र ‘धनमान लघुकथा पुरस्कार–२०८१’ प्रदान गर्नका लागि दुई जना लघुकथा स्रष्टाको नाम चयन गरिएको छ। 

लघुकथा समाजले विज्ञप्ति सार्वजनिक गर्दै  ‘पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान’ का लागि हेटौँडाका लघुकथाकार आर.आर. चौलागाईं र ‘धनमान लघुकथा पुरस्कार’ का लागि भक्तपुरका लघुकथाकार श्याम आशा छनोट भएको जानकारी गराएको हो। 

लामो समयदेखि लघुकथा लेख्दै आएका चौलागाईंको वि.सं. २०६५ मा ‘विघटनको तयारीमा’ लघुकथासङ्ग्रह प्रकाशित छ।  यसैगरी, श्याम आशा लामो समयदेखि नेपाल भाषामा लघुकथा लेख्दै आउनुभएको छ। उहाँका नेपाल भाषामा ७ वटा लघुकथासङ्ग्रह प्रकाशित छन् भने दुई वटा सङ्ग्रह नेपालीमा अनुदित छन्। ‘

लघुकथा समाजले दुई स्रष्टाको नाम चयन गर्नका लागि समाजका सल्लाहकार वरिष्ठ समालोचक प्रा.डा. लक्ष्मणप्रसाद गौतमको संयोजकत्वमा श्रीओम श्रेष्ठ ‘रोदन’ र तुलसीहरि कोइराला रहेको तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो।

समितिको सिफारिस अनुसार दुबै स्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान गर्न लागिएको समाजले जनाएको छ। दुबै पुरस्कार तथा सम्मानमध्ये ‘पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान’ भदौ ५ गते १७ औँ लघुकथा दिवसका अवसरमा सर्वनाम नाटक घरमा विशेष समारोहको आयोजना गरेर प्रदान गरिने छ भने ‘धनमान लघुकथा पुरस्कार’ भदौ ८ गते भक्तपुरमा आयोजना गरिने समारोहमा प्रदान गरिने समाजको विज्ञप्तिमा उल्लेख छ। लघुकथा समाजले भदौ ४, ५ र ६ गते विविध कार्यक्रमको आयोजना गरेर दिवस मनाउने जनाएको छ।