• २२ भदौ २०८१, शनिबार

रहनुभएन चर्चित सङ्गीतकार गुरुदेव कामत

blog

शास्त्रीय सङ्गीतका साधक गुरुदेव कामतको आफ्नै निवास लक्ष्मीपुरपतारी पोखरभिण्डामा । तस्बिरः जीवछ यादव

जीवछ यादव 

लहान, साउन १७ गते । लक्ष्मीपुरतारी गाउँपालिका–२ पोखरभिण्डा घर भएका ६८ वर्षीय शास्त्रीय सङ्गीतका चर्चित गुरुदेव कामतको आफ्नै निवासमा बिहीबार विहान निधन भएको छ । मधुमेह बढेपछि ६ दिनदेखि खान र बोल्न छाडेर गम्भीर सिकिस्त हुनुभएको थियो । 

दुबै मिर्गौलाले काम गर्न छाडेपछि ६ महिनादेखि आफ्नै घरमा थला पर्नुभएका कामतको डायलाेसिस उपचार लहानस्थित रामकुमार उमाप्रसाद प्रादेशिक अस्पतालमा दुई दिन बिराएर भइरहेको थियो । आज बिहान डायलाेसिसका लागि लहान ल्याउन तयारी भएको अवस्थामा उहाँले अन्तिम श्वास लिएको परिवारजनले जनाएको छ ।

अहिलेसम्म दस लाख खर्च गरेको थप उपचारका लागि प्रदेश र स्थानीय तहले सहयोग गर्ने तयारी थालेको बेला पिताको मृत्यु भएको कान्छो छोरा समीर कामतले सुनाउनुभयो ।  

दस वर्षको उमेरमै गाउँघरमा मनोरञ्जनका लागि गरिने नाटक स्टेज कार्यक्रमबाट चम्किनुभएका गुरुदेव कामत भारतको इलाहावाद र पश्चिम बङ्गालबाट शास्त्रीय सङ्गीत सिक्नुभएको थियो । २०६१ सालदेखि काठमाडौंमा गुरुकुल सङ्गीत पाठशाला खोलेर सयौंलाई सङ्गीत सिकाउनुभएका कामतलाई ६ महिना पहिले दुबै मिर्गौलाले काम गर्न छाडेपछि काठमाडौंमा उपचार गराएर डायलोसिस नियमित गराउन चिकित्सकहरुले दिएको सल्लाह अनुसार लहानमा डाइलोसिस गराउँदै आइरहेको उहाँको कान्छो छोरा समीर कामतले बताउनुभयो । 

गोरखापत्र अनलाइन र पत्रिकाले हिजो समाचार छापिएपछि आजै बिहानदेखि काठमाडौँबाट पिताको उपचारका लागि सहयोग गर्ने फोनहरु चारैतिरबाट आउन थालेको समीरले सुनाउनुभयो । अब तीनै तहको सरकारकाे सहयोगबाट पितालाई बचाउन सक्ने आशा जागेकै केही क्षणमा मृत्यु भएकाले निकै पीडा भएको मृतक कामतका परिवारले बताउनुभयो । तीन छोरा एक छोरी रहेको कामतको जेठो छोरा धर्मेन्द्र कामत र प्रमेन्द्र कामत विदेशबाट आउन लागेकाले आजै २ बजे पोखरभिण्डामा दाह संस्कार गर्ने परिवारजनले जनाएको छ । 

गुरुदेव कामतजस्तो सङ्गीतकार गीतकार प्रष्ट वक्ताको निधनले राष्ट्रले एक महत्वपूर्ण व्यक्ति गुमाएको मैथिली साहित्य परिषद् सिराहाका अध्यक्ष तथा वरिष्ठ लेखक रामरिझन यादवले बताउनुभयो । चार दिन अगाडि प्रदेशसभा सदस्य राजेन्द्रप्रसाद चौधरी र लक्ष्मीपुरतारी गाउँपालिका अध्यक्ष चतुरानन्द ठाकुरले उपचारका लागि सहयोग गर्न पहल थाल्नुभएको थियो । 


मन्त्रीबाट शोक सन्देश 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नेपाली शास्त्रीय सङ्गीतका धरोहर गुरुदेव कामतको निधनप्रति शोक सन्देश दिनुभएको छ ।  उहाँको निधनबाट नेपाली शास्त्रीय सङ्गीतको एउटा प्रतिष्ठित व्यक्तित्व गुमाएका छौँ सन्देश मार्फत भन्नुभएको छ। उहाँको आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै यस दुःखद घडीमा शोकाकुल परिवारमा धैर्य धारण गर्ने शक्ति मिलोस् भन्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्नुभएको छ ।