• १२ असोज २०८१, शनिबार

रामेछापको विभिन्न ठाउँमा सडक अवरुद्ध

blog

सडकमा खसेको पहिरोका कारण अवरुद्ध सडक ।

नवराज श्रेष्ठ

रामेछाप, साउन १६ गते । अविरल वर्षापछि आएको बाढी र पहिराेका कारण रामेछापमा विभिन्न स्थानका सडक अवरुद्ध बनेका छन् । गए रातिको अविरल वर्षापछि ठाउँ–ठाउँमा पहिरो खस्दा लिखुतामाकोशी गाउँपालिकाको धोबी–सैपु सडक खण्ड पूर्णरूपमा अवरुद्ध भएको छ । 

अविरल वर्षाका कारण पहिरो खस्दा धोबी–सैपु सडक पूर्णरूपमा अवरुद्ध भएको लिखुतामाकोशी गाउँपालिका–२ सैपुका वडा अध्यक्ष सन्तोष पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “अविरल वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो खसेर धोबी–सैपु सडक अवरुद्ध बनेको छ । 

यो सडक सुचारु गर्न केही समय लाग्ने बताइएको छ । सवारी साधन प्रयोग कर्तालाई धोबी–सैपु सडकको वैकल्पिक बाटो प्रयोग गर्न अध्यक्ष पौडेलले अनुरोध गर्नुभयो । यस्तै, खाँडादेवी गाउँपालिका–८ मा पनि वर्षा पछिको पहिरोले सडक अवरुद्ध भएको छ । 

अवरुद्ध सडक खुलाउन गाउँपालिकाले डोजर पठाएको गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले बताउनुभयो । यस्तै, मन्थली नगरपालिका –८ चिसापानीको सल्ले पानी–चिसापानी सडकमा गए रातिको वर्षाले आंशिक रूपमा असर गरेको छ ।

यो सडकखण्डको विभिन्न ठाउँमा ढुङ्गा खसेकाले त्यसलाई हटाइएको मन्थली नगरपालिका–८ चिसापानीका वडा अध्यक्ष गोपाल श्रेष्ठले बताउनुभयो ।