• ९ मंसिर २०८१, आइतबार

महिलालाई कोदो रोप्न भ्याइनभ्याई

blog

बाजुराको बुढीगङ्गा नगरपालिका –१० का महिला कोदो रोप्दै । तस्बिर: शेरबहादुर सार्की

शेरबहादुर सार्की

बाजुरा, साउन १६ गते । बाजुराका महिलालाई कोदो रोप्न भाइनभ्याई भएको छ । यहाँ जेठ–असारदेखि साउन दोस्रो हप्तासम्म धान रोपाइँ गर्ने र त्यसपछि साउनको दोस्रो हप्तादेखि भदौको दोस्रो हप्तासम्म कोदो रोपिन्छ । 

जेठ–असारदेखि साउनको दोस्रो हप्तासम्म बाजुरामा धान रोप्ने काम सकिएपछि यतिबेला यहाँका महिला कोदो रोप्ने व्यस्त छन् । धान रोपाइँ सकिएपछि अहिले बिहान दिउँसो कोदो रोप्ने काम भइरहेको बुढीगङ्गा नगरपालिका –१० बदेडाकी स्थानीय जुनकला सार्कीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “भदौमा पाक्ने कोदो वैशाख–जेठ महिनामा लगाउने र कात्तिक– मङ्सिरमा पाक्ने कोदो यति बेला रोप्छौ ।” बाजुरामा कोदो खेती राम्रो उत्पादन हुने गर्दछ । यहाँका अधिकांश स्थानीय पाखो र भिरालो जमिनमा कोदो खेती गर्ने गर्छन् ।

पहिला यहाँका अधिकांश स्थानीयले कोदोका लागि रान (जङ्गल फडानी गरी कोदो लगाउने काम) हाल्ने काम गर्दथे । भोकमरी हुँदा कोदो सहारा बन्ने गथ्र्यो । 

पुराना पुस्ताले कोदोखेती धेरै गर्ने गरेको भए पनि पछिल्लो पुस्ताले भने कोदो लगाउने काम छोड्दै गएका छन् । 

अहिले गाउँमा सडक पुगेपछि दलेको दाल फेलेको चामल घरमै पुग्न थालेपछि यो पुस्ताले कोदो खेतीप्रति चासो नदेखाएको जेष्ठ नागरिकको गुनासो छ । यहाँका अधिकांश गाउँ बस्ती सडक सञ्जालको पहुँचमा पुगेसँगै कोदो रोप्न काम गर्दैगएको देखिन्छ । 

बाजुराको हिमाली, जगनाथ, स्वामिकार्तिक, बुढीनन्दा, बडिमालिका, गौमुल बुढीगङ्गा, खप्तड छेडेदह र त्रिवेणीलगायतका विभिन्न ठाउँमा कोदो राम्रो उत्पादन हुन्छ । बाजुराको अर्गानिक कोदो पछिल्लो समय विभिन्न सहरमा माग बढ्न थालेपछि अहिले यहाँका स्थानीय पनि फेरि कोदो खेती लगाउन थालेका छन् ।

कोदोमा कार्बोहाइड्रेट, प्रोटिन, फाइबर, भिटामिन, क्याल्सियम, म्याग्नेसियम, आइरनजस्ता खनिजको प्रचुरता बढी भएकाले स्वास्थ्यका लागि उपगोगी मानिन्छ । अहिले यहाँका केही स्थानीय सरकारले विद्यालयमा बालबालिकालाई खुवाइँदै आएको दिवा खाजामा कोदोको परिवार अनिवार्य गर्दैआएका छन् ।

जिल्लामा दुई लाख ३० हजार ३७ हेक्टर जमिनमध्ये २२ हजार हेक्टर खेतीयोग्य भए पनि पाँच हजार दुईसय ३० हेक्टरमा सिँचाइ सुविधा छ । बाजुरामा लगाउँदै आएको अन्य रैथाने बाली धान गहुँको तुलनामा कोदो बाली १५ प्रतिशत मात्र उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ  ।