• १२ असोज २०८१, शनिबार

हिमाल आरोहण गर्न रेकी समूह लिङखोलामा

blog

हिमालको अवस्था बुझ्न लिङ्खोला पुगेको रेकी समूहको टिम । तस्बिर : राजन रावत

राजन रावत
हुम्ला, साउन १६ गते ।
नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमीको लिङखोलामा रहेका हिमालहरुको आरोहण गर्नका लागि एक रेकी समूहको टोली पुगेको छ । पहिलो पटक आरोहण गर्न लागिएका ती हिमालमा आरोहण गर्ने अवस्था बुझ्न र अध्ययन गर्न टोली सो स्थानमा पुगेको हो ।

हुम्लाका पर्यटक व्यवसायी रिन्जिन लामाले आगामी कात्तिक महिनामा लिमीको लिङ खोलामा रहेका पाँच वटा हिमाल चढ्नका लागि आउने टोलीको तयारीका लागि एक टोली स्थलगत रुपमा आएर अध्ययन गरेको जानकारी दिनुभयो ।

उहाँले टोलीले पाँच वटा हिमालको आरोहण गर्न सकिने निष्कर्ष निकाल्दै काठमाडौँ फिर्ता भएको र अब पहिलो पटक हुम्लामा रहेका हिमालको आरोहण गर्ने बाटो खुलेको बताउनुभयो ।

लिङ खोलामा पाँच हजारदेखि छ हजार तीन सय मिटरसम्म उचाइ रहेका हिमाल भएको र ती हिमालहरुको नामसमेत नरहेको अवस्थामा हिमालहरुको आरोहण गर्न लागिएको छ ।

यस हिमाल आरोहणका कारण हुम्ला जिल्लाको पर्यटक क्षेत्रमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । यसका लागि काठमाडौँदेखि रेकी समूहबाट प्रबन्धक अभय खनालसहित तीन जना आउनुभएको थियो ।

हुम्लाबाट भने लामाले समन्वय गर्नुभएको थियो । हिमालहरु आरोहण गर्नका लागि उपयुक्त भएकाले अब हुम्लाको पर्यटन क्षेत्रको भविष्य राम्रो देखिएको प्रबन्धक खनालको भनाइ छ । सदरमुकाम सिमकोटबाट लिमीसम्म पैदल लागेको टोलीले दुई हप्ता समय लगाएको थियो । आगामी कात्तिक महिनामा हुने हिमाल आरोहणका लागि २० जना पर्यटक हुम्ला आउँदैछन् । लिङखोलामा हिमाल आरोहण गर्ने र लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गर्ने कार्य हुनेछ ।