• १० मंसिर २०८१, सोमबार

म्युनिख काण्डका प्रत्यक्षदर्शी

blog

जितबहादुर केसीलाई नेपालको एथलेटिक्स क्षेत्रमा कहिल्यै बिर्सन सकिँदैन । उनले ट्र्याक एन्ड फिल्डमा नेपालका लागि सर्वाधिक ठूलो पदक जितेका छन् । सन् १९७३ मा मनिलामा सम्पन्न एसियन ट्र्याक एन्ड फिल्ड इभेन्ट्समा उनले तेस्रो स्थान प्राप्त गरेका थिए । एसियालीस्तरमा प्राप्त गरेको यो उपलब्धि हालसम्म कसैले पनि तोड्न सकेको छैन । उनी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा म्याराथन दौड पूरा गर्ने पहिलो नेपाली खेलाडी पनि हुन् ।  

अझ योभन्दा पनि सन् १९७२ मा जर्मनीको म्युनिखमा आयोजित २० औँ ओलम्पिकमा म्याराथन जित्ने धावकका रूपमा उनलाई हेरिएको थियो । यसबारे अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीले समाचार नै प्रकाशित ग¥यो तर दुर्भाग्य म्युनिख ओलम्पिकमा भएको दुःखदायी घटना र शारीरिक अवस्थाले उनलाई यो लक्ष्यमा पुग्न दिएन । 

जितबहादुरले सन् २००० को सिड्नी ओलम्पिकका बेला गोरखापत्रसँग कुरा गदै म्युनिख ओलम्पिकमा भएको दुःखदायी घटनाको यसरी स्मरण गरेका थिए– म्याराथन प्रतियोगिता सुरु भयो । म पनि सहभागी भएँ तर डरलाग्दो त्यो घटनाले मलाई सताइरह्यो । मसँगै नेपालबाट भक्तबहादुर सापकोटा पनि सहभागी थिए । उनले चाहिँ दौड पूरा गरे तर मलाई भने त्यो घटना सम्झना आइरह्यो । त्राहि त्राहि भइरह्यो । रातको निस्तब्धतालाई चिर्दै ठूलो आवाजमा बम विस्फोट भएका घटनाको म प्रत्यक्षदर्शी थिएँ । यही सम्झनाले प्रतियोगितामा म दौडनै सकिनँ । खुट्टाको बायाँ पिँडौलामा पनि चोट लाग्यो, त्यही तनावले हुन सक्छ । २१ किलोमिटर मात्र दौडन सकेँ । अनि दौडलाई मैले बीचमा नै छाड्नु प¥यो ।

घटना हुनुअघि जितबहादुर कोठमा सुत्ने तयारी गर्दै थिए । निद्रा भने आएको थिएन । नेपालबाट गएका खेलाडी तथा पदाधिकारीको बसाइँ ओलम्पिक गाउँमै थियो । नेपाली बसेको कोठाको पारिपट्टि  इजरायलका खेलाडी पनि बसेका थिए । ओलम्पिकमा भाग लिन गएका टोलीका कुमार खड्गविक्रम एक नम्बरमा, मोहनबहादर शाही दुई नम्बरमा, केशव भट्टराई तीन नम्बरमा, लक्ष्मण शाह चार नम्बरमा, जितबहादुर पाँच नम्बरमा र भक्तबहादुर सापकोटा छ नम्बरको कोठामा बसेका थिए । 

रातको १ बजेको हुँदो हो, एकाएक नेपाली टोली बसेको भूमिगत तला रहेको सिसाकोे घर त ठूलो आवाजमा जुरुक्कै उचालियो । सुरुमा त जितबहादुरले खासै चासो दिएनन् । त्यसको पाँच मिनेटपछि अर्को त्यस्तै जोडदार आवाज आयो । अब भने उनलाई डर लाग्न थाल्यो तर उनी डराउँदा डराउँदै निदाए । 

बिहान ४ बजेतिरको कुरो हो, जितबहादुरको कोठामा एकसुरले घण्टी बज्न थाल्यो । उनले सोचे गार्डले बिनासित्तिमा घण्टी बजायो तर होइन रहेछ । अब यहाँ बस्न हुँदैन, तुरुन्तै बाहिर निस्कनु पर्छ भन्ने सूचना दिनका लागि त्यो घण्टी बजेको रहेछ । त्यसपछि उनी हतार हतार कोठाबाट बाहिर निस्के । बाहिर त दुई जना मरिरहेका र नौ जनालाई बाँधेर राखिएको रहेछ ।

अब भने जितबहादुरको सातोपुत्लो गयो तर उनी भागेर जाने ठाउँ थिएन । वरिपरि सुरक्षाकर्मीले घेरा हालिसकेका थिए । उज्यालो भइसकेको थियो । एक जनाले ह्यान्ड ग्रिनेड र बन्दुक लिएको उनले देखे । उनीहरूको माग के हो राम्ररी उनलाई थाहा थिएन तर पाँच जना अरबीले २३० जना व्यक्तिलाई छाडिदिनुपर्ने र त्यहाँ बाँधिएका नौ जनालाई लैजान पाउनुपर्ने माग राखेको उनले बुझे । 

मागबमोजिम राति ११ बजे बन्धक नौ जना लैजान दिने सहमति भएछ । पछि मात्र उनलाई थाहा भयो, कमान्डोले कारबाहीस्वरूप गोली चलाउँदा प्रतिव्रिmयामा ती पाँच जनामध्ये एक जनाको हातमा रहेको ह्यान्ड ग्रिनेड पड्केर ती नौ जना इजरायली खेलाडीको मृत्यु भएको रहेछ । 

यस घटनाले ओलम्पिक खेलमा पूरै सन्नाटा छायो, घटनाले दुई/तीन दिन खेल रोकियो । यस घटनाले जितबहादुरको मनमस्तिष्क नै खल्बलाइदियो । अनि उनी प्रतियोगितामा दौडनै सकेनन् र बीचमै खेल परित्याग गर्नु प¥यो । 

यसरी जितबहादुरको म्युनिख ओलम्पिकमा सहभागिता दुःखदायी रह्यो तर उनी नेपालको एथलेटिक्सका एक चर्चित हस्ती हुन् । उनले केही समय राष्ट्रिय खेलकुद परिषद्मा एथलेटिक्सको प्रमुख प्रशिक्षकका रूपमा पनि काम गरे ।

विसं २००५ मा दोलखाको चरीकोटस्थित पोबटी–४ मा जन्मेका जितबहादुरको सन् १९७० मा बैङ्ककमा आयोजित एसियाली खेलकुद प्रतियोगिताबाट अन्तर्राष्ट्रिय प्रतियोगिता सुरु भएको हो । त्यसबेला नेपाली टोलीमा छ जना एथलेटिक्स खेलाडी समावेश थिए । तीमध्ये गङ्गाबहादुर थापा र उनले म्याराथनमा भाग लिएका थिए, जसमा उनले सातौँ स्थान प्राप्त गरे ।

जितबहादुरको एथलेटिक्स खेलको इतिहास केलाउँदा २०२० सालमा उनले सेनामा जागिर खाए । पाँच माइल दौडने सेनाको एक प्रतियोगितामा उनी प्रथम भए । यो जितले उनलाई प्रशिक्षण लिने मौका मिल्यो । यो बेला दशरथ रङ्गशाला पनि बनेको थिएन । चार/पाँच महिनाको प्रशिक्षणपछि एसियाली खेलकुद प्रतियोगितामा भाग लिन उनी बैङ्कक पुगेका थिए । यो बेलासम्म उनले म्याराथनको पूरा दूरी दौडेका पनि थिएनन् । यसपछि नै जर्मनीको म्युनिख ओलम्पिकमा उनले भाग लिएका हुन् ।  

यस्तै मनिलापछि सन् १९७५ मा दक्षिण कोरियामा भएको अर्को एसियन ट्र्याक एन्ड फिल्डमा पनि उनले तेस्रो स्थान प्राप्त गरी कांस्य पदक जिते । मनिलामा प्रथम र द्वितीय हुने दुवै कोरियालीलाई उनले यो प्रतियोगितामा हराएका थिए । 

राष्ट्रका लागि पदक जितेर फर्कंदाको उनीसँग तितामिठा सम्झना छन् । मनिलाबाट तेस्रो भएर फर्कंदा विमानस्थलबाटै सिन्दूरजात्रा गरी शहर घुमाएर स्वागत गर्नुका साथै पाँच सय रुपियाँ पुरस्कार पनि उनले पाएका थिए तर कोरियाबाट तेस्रो भएर फर्कंदा ‘तेस्रो त भएको हो नि’ भनेर पदासीनहरूले त्यसै टारिदिए रे ! 

विसं २०२८ मा वीरगन्जमा पहिलो राष्ट्रिय म्याराथन प्रतियोगिता भयो र यसमा उनले प्रथम स्थान प्राप्त गरे । यही बेला नै उनी राष्ट्रियस्तरमा म्याराथन दौड पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका हुन् । 

खेल जीवनमा म्युनिख ओलम्पिकपछि मनिलामा म्याराथन दौडँदाको क्षण पनि उनले कहिल्यै बिर्सन सक्दैनन् । म्याराथन दौड सुरु भएपछि ठूलो पानी प¥यो । घुँडासम्म पानी जमेको ठाउँमा दौडनु प¥यो । यसरी दौड्दा खुट्टाको जुत्ता हराएको पनि उनले पत्तै पाएनन् । २० किमी जति पानीमै दौडनु प¥यो । दौड पूरा गर्दा खुट्टा रक्ताम्मे भइसकेको रहेछ तर उनलाई जुत्ता हराउँदा पनि त्यति अप्ठ्यारो चाहिँ भएन रे । कमसल जुत्ता लगाउनाले यस्तो हुन पुगेको उनको ठहर छ । 

–पुष्पराज जोशी