काठमाडौँ, साउन १६ गते । प्रतिनिधि सभाको कार्यकाल डेढ वर्ष पूरा भएपछि सङ्घीय संसद्को एक संयुक्त समितिले पूर्णता पाएको छ । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिले मङ्गलबार औपचारिक रूपमा पूर्णता पाएको हो ।
संयुक्त समितिमा माथिल्लो सदनले यसअघि नै सदस्य तोके पनि प्रतिनिधि सभाले सदस्य मनोनयन गरेको थिएन । सदस्य नतोकिँदा समिति गठनसमेत हुन सकेको थिएन । १५ सदस्यीय संयुक्त समितिमा प्रतिनिधि सभाबाट १२ र राष्ट्रिय सभाबाट तीन सदस्य रहने व्यवस्था छ । सङ्घीय संसद् र प्रतिनिधि सभाका अन्य समिति २०८० वैशाखमै गठन भएका थिए । सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली–२०८० को नियम २८ (२) बमोजिम मङ्गलबार प्रतिनिधि सभाले समिति सदस्यको नाम तोकेको हो । समितिमा प्रतिनिधि सभाबाट ठाकुरप्रसाद गैरे, दिलेन्द्रप्रसाद बडू, देवप्रसाद तिमिल्सिना, प्रतिमा गौतम, प्रभु हजारा, बुद्धिमान तामाङ, शान्ति विक, सन्तोष परियार, सरस्वती सुब्बा, हितराज पाण्डे र हेमराज राई रहेका छन् ।
राष्ट्रिय सभाले समितिका तीन सदस्य यसअघि नै तोकेको थियो । सभाले तुलासाकुमारी दाहाल, मदनकुमारी शाह र मोहम्मद खालिदलाई २०८० चैत २१ गते सदस्य तोकेको थियो । प्रतिनिधि सभाले सदस्य नतोक्दा समितिले पूर्णता पाएको थिएन ।