• ९ मंसिर २०८१, आइतबार

नेपालको समृद्धिमा चीन शुभेच्छुक : राजदूत सोङ

blog

नेपालका लागि चिनियाँ राजदूत छेन सोङ कार्यक्रममा सम्बोधन गर्नुहुँदै ।

गोरखापत्र अनलाइन

काठमाडौं, साउन १५ गते । नेपालका लागि चिनियाँ राजदूत छेन सोङले चीन सरकारले नेपालको आर्थिक विकास र समृद्धिका लागि शुभेच्छुक रहेको बताउनुभएको छ । आज यहाँ आयोजित एक कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “चीन र नेपाल हिमालको शृङ्खलाले जोडिएका देश हुन्, दुवै देशविच सदियौंदेखिको मैत्रीपूर्ण सम्बन्ध रहिआएको छ । बेल्ट एण्ड रोड इनिसिएटिभ परियोजनाले दुवै देशलाई सकारात्मक उपलब्धि दिएको छ, हामीलाई एकअर्कासँग जोड्ने नेटवर्क बनिरहेको छ ।”

चिनियाँ शैलीको आधुनिकीकरण शान्तिपूर्ण विकासको मार्ग भएको चर्चा गर्नुहुँदै राजदूत सोङले भन्नुभयो, “हामी चीन मात्रको आधुनिकीकरणको खोजीमा छैनौं, विकासशील देशहरुसहित सबै देशसँग मिलेर आधुनिकीकरण हासिल गर्न चाहन्छौं । नेपालजस्ता मित्रराष्ट्रहरुका साथ चीनको विकासले उत्पन्न गरेको नयाँ गुणस्तरीय उत्पादनशक्ति र चीनको आधुनिकीकरणले ल्याएको ठुला अवसरहरु साझा गर्न इच्छुक छौं ।”

नेपाल चाइना मिडिया फोरमका अध्यक्ष किशोर श्रेष्ठले नेपाल र चीनका विभिन्न आयाममा सहकार्यको आवश्यकता रहेको भन्दै त्यसबारे चर्चा गर्नुभयो । नेपाल र चीनले संस्कृति, शिक्षा, पर्यटन, वातावरण, प्रविधि, पत्रकारिता, स्वास्थ्यलगायतका क्षेत्रमा मिलेर काम गरिरहेको र थप गर्न सकिने बताउनुभयो । 


नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजालले नेपाल र चीनबिच ऐतिहासिक सम्बन्ध रहेको चर्चा गर्नुहुँदै विकासमा पनि दुई देशले अनुभव आदानप्रदानको आवश्यकता रहेको बताउनुभयो । चीनको आर्थिक विकासबाट नेपालले सिक्ने थुप्रै पक्ष भएको बताउँदै उहाँले त्यसमा चीन सरकारले नेपाललाई सहयोग गर्नुपर्ने चर्चा गर्नुभयो । 

सो अवसरमा चाइना मिडिया ग्रुपका अध्यक्ष सेन हाइछ्याङ्, चाइना मिडिया ग्रुपका एसिया पेसिफिक स्टेशनका निर्देशक छाओ ई, सिचुवान विश्वविद्यालय चीनमा विद्यावारिधि गरिरहनुभएका निरज लाओजु, साइनो नेपाल मिडिया सोसाइटीका अध्यक्ष ध्रुव पौडेललगायतले धारणा राख्नुभएको थियो ।