• १० माघ २०८१, बिहिबार

आलु उत्पादन वृद्धि

blog

कलैया समाचारदाता 

बारा, वैशाख २१ गते । बारामा एक लाख १८ हजार ७२० मेट्रिक टन आलु उत्पादन भएको छ । यस वर्ष किसानले सात हजार ४२० हेक्टर क्षेत्रफलमा विभिन्न जातका आलु खेती गरेका छन् । त्यसबाट प्रतिहेक्टर करिब १६ मेट्रिक टन उत्पादन हुँदा कुल एक लाख १८ हजार ७२० मेट्रिक टन आलु उत्पादन गरेको कृषि ज्ञान केन्द्र बारा कलैयाका प्रमुख जितेन्द्र यादवले जानकारी दिनुभयो । 

कम लगानीमा बढी फाइदा हुने नगदेबाली उखु खेती र मत्स्यपालन व्यवसायतर्फ कृषक बढी आकर्षक भएकाले गत वर्षको तुलनामा यस वर्ष आलु खेती करिब ३० हेक्टरमा घटेको छ । विगत तीन वर्षदेखि लगातार २० देखि ३० हेक्टर क्षेत्रफल जग्गामा आलुको साटो अन्य नगदेबाली खेती हुँदै आएको उहाँको भनाइ छ । 

आर्थिक वर्ष २०७७/७८ मा दुई अर्ब ८७ करोड ५९ लाख ५० हजार बराबरको एक लाख १९ हजार दुई मेट्रिक टन आलु उत्पादन भएको थियो । जिल्लाको उचिडिह हरिहरपुर, गोलागञ्ज, अमृतगञ्ज, देवापुर, भगवानपुर, पिपरपाती, बरियारपुर, मटिअर्वालगायतका दक्षिणी भागमा आलु खेती हुँदै आएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी राजनारायणप्रसाद साहले बताउनुभयो ।