• ११ असोज २०८१, शुक्रबार

इलाममा चुनावी अभियान : ठूला सभाभन्दा घरदैलोमा व्यस्त

blog

पशुपतिनगर समाचारदाता 

पशुपतिनगर (इलाम), वैशाख २१ गते । इलाम जिल्लामा राजनीतिक दलले चुनावी अभियान र प्रचारप्रसारलाई तीव्रता दिएका छन् । भौगोलिक हिसाबले विकट पहाडी जिल्ला इलामका सहर, बजार र गाउँगाउँमा पुगेर उम्मेदवारले घरदैलो गरिरहेका छन् । भेला, भेटघाट, कोणसभा गरेर उम्मेदवारले प्रचार कार्यलाई तीव्र पारेका छन् ।

चारवटा नगरपालिका, छ वडा र गाउँपालिका इलाममा ८१ वटा छन् । जिल्लामा नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली काँग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र मङ्गोल नेसनल अर्गनाइजेसनसहितका दलले पार्टीका घोषणपत्रसहित स्थानीय विकासका योजनाअगाडि सारेर मत मागिरहेका छन् । 

दलहरूले यस पटकको निर्वाचनमा घरदैलो कार्यक्रमलाई विशेष प्राथमिकता दिएका छन् । जिल्लामा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले केही पालिकामा गठबन्धन गरेका छन् । नेपाली काँग्रेस इलामका सभापति डम्बर खड्काले मतदातालाई निर्वाचनको चिह्न चिन्हाउँदै मत मागिरहेको जानकारी दिनुभयो ।उहाँले भन्नुभयो, “केन्द्रको निर्देशनअनुसार भएको गठबन्धनका उम्मेदवारलाई जिताउन हामी साझा कार्यक्रम लिएर हिँडिरहेका छौँ ।”

इलाममा प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले पनि चुनावी प्रचारलाई तीव्र बनाएको छ । जिल्लाका १० वटै पालिकामा उम्मेदवारी दिएको एमालेले सहर, गाउँबस्तीमा चुनावी अभियान एकसाथ चलाएको छ । इलाम नगरपालिकामा चुनावी रौनक विषेश रूपमा देख्न सकिन्छ । इलाम नगरपालिकाको प्रमुख पदमा नेकपा (एमोल) का धीरेन चेम्जोङ उम्मेदवार हुनुहुन्छ । त्यस्तै नेपाली काँग्रेसबाट केदार थापा प्रमुख पदमा उम्मेदवार हुनुहुन्छ । जिल्लाको पुरानो नगरपालिका र सदरमुकामसमेत रहेकाले इलाममा चुनावी सरगर्मी अन्यत्रभन्दा बढी छ ।

यस्तै सूर्योदय नगरपालिकामा पनि चुनावी माहोल फरक रहेको छ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालको निर्वाचन क्षेत्रमा पर्ने सूर्योदय नगरपालिकामा नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी)बीच चुनावी प्रतिस्पर्धा छ । 

नेकपा (एकीकृत समाजवादी)का नेता रणबहादुर राई गठबन्धनका तर्फबाट अध्यक्ष पदमा उम्मेदवार हुनुहुन्छ । प्रदेश १ सभा सदस्यबाट राजीनामा दिएर नेकपा (एमाले)का काजीमान कागते चुनावी मैदानमा होमिनुभएको छ । दलहरूले विगतका निर्वाचनमा जस्तो तामझामका साथ अभियान भने सञ्चालन गरेको देखिदैन । यस पटकको निर्वाचनमा दलहरूले जिल्लामा खासै आमसभाका कार्यक्रमसमेत तय गरेका छैनन् । घरघर पुगेरै भोट माग्ने र प्रचार गर्ने काम गरिरहेका छन् । दलहरूले डिजिटल प्रचारप्रसारका माध्यमसमेत यस पटकको निर्वाचनमा अपनाएको पाइएको छ । जिल्लामा दुई लाख २४ हजार ७४८ मतदाता रहेका छन् । जिल्लामा १५१ मतदान स्थल र २८५ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय इलामका प्रमुख देविचरण फूयालले जानकारी दिनुभयो ।