• १३ साउन २०८१, आइतबार

मुख्यमन्त्री लामाले मङ्गलबार विश्वासको मत लिने

blog

बागमती प्रदेश सभा सतिवालय । तस्बिर : राममणि दाहाल

राममणि दाहाल

हेटौँडा, साउन १३ गते । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङले साउन १५ गते मङ्गलबार बागमती प्रदेश सभाबाट विश्वासको मत लिने हुनुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले मुख्यमन्त्री लामाले प्रदेश सभाबाट विश्वासको मत लिने प्रयोजनका लागि पत्र बागमती प्रदेश सभा सचिवालयमा दर्ता गराउनुभएको हो ।

विश्वासको मत लिने प्रयोजनका लागि मुख्यमन्त्री मन्त्री तथा मन्त्रीपरिषद् कार्यालयबाट प्रदेश सभा सचिवालयमा पत्र प्राप्त भएको बागमती प्रदेश सभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिनुभयो । उहाँका अनुसार साउन १५ गते मङ्गलबार दिउँसो ३ बजे विश्वासको मत लिने प्रयोजनका लागि समय व्यवस्थापन गरिदिन मुख्यमन्त्री कार्यालयबाट पत्र प्राप्त भएको छ ।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतासमेत रहनुभएका मुख्यमन्त्री लामा यही साउन ८ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । मुख्यमन्त्री लामाले १३ मन्त्रालय रहेको बागमती प्रदेशमा एक जना बिना विभागीयसहित १४ जना मन्त्री नियुक्त गर्नुभएको छ ।

मुख्यमन्त्री नियुक्त हुँदा लामा कांग्रेस र नेकपा एमालेका गरी ६४ जना प्रदेश सभा सदस्यको समर्थन थियो । सरकारमा रहेका दलहरु माओवादी केन्द्रका २१, एकीकृत समाजवादीका सात र हाम्रो नेपाली पार्टीका दुई जना प्रदेश सभा सदस्य छन् । 

एक सय १० जना प्रदेश सभा सदस्य रहेको बागमती प्रदेश सभामा प्रदेश सभामा कांग्रेसको ३७, एमालेको २७, सभामुखसहित राप्रपाको १३, नेकपा (एकीकृत समाजवादी)को सात, नेपाल मजदुर किसान पार्टीको तीन र हाम्रो नेपाली पार्टीको दुई जना प्रदेश सभा सदस्य छन् । बहुमतका लागि ५६ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक हुन्छ।