• १२ साउन २०८१, शनिबार

तिनाउमा डुबेर एकको मृत्यु

blog

छविलाल पाण्डे 

बुटवल, साउन १२ गते । बुटवलको तिनाउ नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । एक बालक बेपत्ता भएका छन् । बुटवल उपमहानगरपालिका –११ स्थित सिर्जनानगरमा रहेको आफन्तको घरमा आएका दुई बालक तिनाउ नदीमा पौडी खेल्नेक्रममा हराएका थिए । 

आमासँग सानी आमाको घरमा आएका बाग्लुङको बरेङ गाउपालिका ४ का १२ वर्षीय विवश खत्रीको मृत्यु भएको छ । सैनामैना नगरपालिका रुपन्देही बस्ने ८ वर्षीय बिप्रन पाण्डे तिनाउ नदीमा हराइरहेका छन् ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार तिनाउ नदीमा पौडी खेल्न गएका तीन जनामध्ये दुई जनालाई नदीले बगाएको देखेपछि सँगै गएका अर्का बालकले आफन्तलाई खवर गरेका थिए । 

तिनाउ नदीमा बगेकामध्ये १२ वर्षीय विवश खत्रीको शव पौडी खेलेको स्थानभन्दा केही तल मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । नदीमा हराई रहेका बिप्रन पाण्डेको खोजी भइरहेको छ ।