• १२ साउन २०८१, शनिबार

पर्यटक पर्खिरहेको स्यार्पुताल

blog

भरिभराउन स्पार्पूतालका दृश्यहरू । तस्बिर: राजु लामिछाने

राजु लामिछाने

रुकुमपश्चिम, साउन १२ गते । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ३ र ५ मा फैलिएको कर्णालीकै पर्यटकीय स्थल स्यार्पुताल यति बेला टम्म भरिएको छ । बर्खा लागेसँगै लोभलाग्दो सुन्दरता बढिरहेको स्यार्पुतालले यति बेला पर्यटक पर्खिरहेको छ । 

२.६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको स्यार्पूमा सिमछहरीबाट दादुरे हुँदै झर्ने निश्चल पानीले थप सुन्दरता दिएको छ । स्यार्पुतालसँगै गाँसिएका स्पार्पुगाउँ र दहगाउँले थप आकर्षण बढाएको छ । टमक्क भरिएको स्यार्पुबाट दही जस्तै भएर बग्ने खोला पनि यहाँको एक आकर्षण हो । 

विशेष गरी वर्षा याममा हेर्न लायक हुने यो तालको शोभा यति बेला हलक्कै बढेको छ ।  स्यार्पुतालको आकार वर्षा र हिउँदमा फरक हुन्छ । आकार मात्र होइन रङ्ग पनि बदल्छ स्यार्पेले । भरिभराउ तालको साउन देखि असोज महिना भरी अवलोकन गर्न सकिन्छ । त्यसपछि तालको आकार बिस्तारै घट्दै जान्छ । हिउँदमा पनि ताल निकै रमणीय देखिन्छ । 

बजारको सधैँको कोलाहल, हिलो, धुलो र धुवाँको सामना गरिरहेकालाई घुमघामका लागि यो ठाउँ निकै उपयुक्त छ । तालमा बोटिङ गर्नको लागि आधुनिक डुङ्गाको व्यवस्था छ । विशेष गरी तालबाट काठका डुङगा विस्थापित गरेर आधुनिक डुङगा राखिनु तथा खाना र बस्नका लागि होमस्टेहरू सञ्चालन गरिनुले यहाँ घुम्न आउनेहरूको सङ्ख्यामा समेत वृद्धि भएको छ । 

होमस्टे सञ्चालक हिरालाल केसीले अहिले ताल टम्म भरिएर लोभलाग्दो बनेको र हेर्न आउनेहरूको सङ्ख्या बढी रहेको बताउनुभयो । तालको सुन्दरतामा रमाउने, फोटो तथा भिडियो बनाउने, होमस्टेमा अर्ग्यानिक खाना, खाजाको स्वाद लिनेहरू अरू भन्दा सार्वजनिक बिदाको दिनमा बढी हुने केसीले जानकारी दिनुभयो । 

पर्यटनकर्मी गोपाल केसीका अनुसार हिमालबाट बगेर आउने पानी तालमा मिसिने भएका कारण यहाँ स्नान गर्दा स्वास्थ्यका लागि फाइदाजनक रहेको स्थानीयको विश्वास छ । जडीबुटीसहितको पानी तालमा मिसिने भएकोले यसको छुट्टै महत्त्व रहेको उहाँको भनाई छ । 

स्यार्पुताल पुग्नको लागि रुकुम पश्चिमको जिल्ला सदरमुकाम मुसिकोटबाट करिब तीन घण्टाको पैदल यात्रा लाग्छ भने २० किलोमिटर मोटर बाटो रहेको छ ।