• १२ साउन २०८१, शनिबार

गैँडा मर्नुको कारण विद्युतीय झड्का

blog

वसन्त पराजुली

नारायणगढ, साउन १२ गते । गत साउन ८ गते मृत अवस्थामा भेटिएको गैँडा विद्युतीय धरापमा परेर मरेको खुलेको छ । चितवन राष्ट्रिय निकुञ्जले सुरुवाती अवस्थामा गैँडा कालगतिले मरेको सार्वजनिक गरेको भए पनि गैँडा कालगतिले नभई करेन्ट लागेर मरेको खुलेको हो । 

निकुञ्जका पशु चिकित्सक डा. विजयकुमार श्रेष्ठले भरतपुर महानगरपालिकाको शिस्वारमा मरेको गैँडाको पोस्टमार्टममै विद्युतीय झड्काबाट मरेको खुलेको बताउनुभयो । “मानव बस्तीको बिचमा आएर गैँडा कसरी कालगतिले मर्छ भन्ने नभएको हैन तर अहिले पोस्टमार्टम हेर्दा विद्युतीय धरापले गैँडा मरेको देखिन्छ ।”

चितवन राष्ट्रिय निकुञ्जको मानव बस्तीनजिकै मकैबारीमा सो गैँडा मृत अवस्थामा भेटिएको थियो । गैँडा मृत भेटिएपछि डा. श्रेष्ठकै नेतृत्वमा गैँडाको पोस्टमार्टम गरिएको थियो । गैँडालाई कुन उद्देश्यले विद्युतीय झड्का दिइयो भन्ने खुल्न सकेको छैन । यद्यपि यसको निकुञ्जले भने अनुसन्धान गरिरहेको जनाएको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले सो घटनामा शङ्कास्पद केही व्यक्तिलाई पव्रmाउ गरी अनुसन्धान सुरु गरिएको बताउनुभयो ।  

“विद्युतीय झड्काबाट गैँडा मरेको भन्ने सूचनाकै आधारमा अहिले अध्ययन भइरहेको छ । पव्रmाउ परेकाहरूलाई म्याद थप गरी अनुसन्धान गरिएको छ,” उहाँले भन्नुभयो । पव्रmाउ परेका व्यक्तिका बारेमा भने उहाँले खुलाउनु भएन । विगतमा निकुञ्जमा विद्युतीय धरापमा पारेर गैँडा कि त चोरीसिकारीले मारेका छन् कि त खेती बचाउन किसानले विद्युतीय धराप राखेका छन् । खाग खुर सुरक्षित रहेकाले पनि निकुञ्जले चोरीसिकारी गिरोहले भन्दा पनि किसानले नै खेती बचाउन गैँडा मारेको हो कि भन्ने आशङ्का निकुञ्ज पदाधिकारीको छ । 

निकुञ्जका सूचना अधिकारी तिवारीले गैँडाको मृत्युका सम्बन्धमा अध्ययन रिपोर्ट सार्वजनिक गरिने बताउनुभयो । यसअघि २०७९ साल माघ १० गते निकुञ्जको पश्चिमी क्षेत्र अन्तर्गत पर्ने अमलटारीमा चोरीसिकारीले दुई वटा गैँडा विद्युतीय धरापमा पारेर मारेका थिए । आर्थिक वर्ष २०८०/८१ मा चितवनमा २१ वटा गैँडा मरेको तथ्याङ्क निकुञ्जसँग छ । यसरी मरेकामध्ये प्राकृतिक कारणले १८, चोरीसिकारीबाट दुई र पहिचान नभएको एक रहेको सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो । यस्तै २०७९/८० मा २२ वटा गैँडा मरे । यसरी मरेकामध्ये दुई चोरीसिकारीबाट मरेका र बाँकी २० वटा कालगतिले मरेका हुन् । पछिल्लो समय चोरीसिकारीभन्दा प्राकृतिक कारणले गैँडा मर्ने व्रmम बढेको छ ।