• १२ साउन २०८१, शनिबार

घरघरै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

blog

गुणबहादुर रोका

सुलीकोट, साउन ११ गते । गोरखाको बारपाक सुलीकोट गाउँपालिकाले अशक्त र ज्येष्ठ नागरिकलाई घरमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ। बर्खाको समयमा घरैमा सामाजिक सुरक्षा भत्ता पाएपछि बारपाक सुलिकोट गाउँपालिकाका अशक्त र ज्येष्ठ नागरिकहरुले राहतको महसुस गर्दै खुशी भएका छन् ।  

गाउँपालिकाले टोलटोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरेपछि लाभग्राहीलाई राहत भएको हो । "पहिले त वृद्धा भत्ता लिनका लागि बैंकसम्म धाएर पुग्नुपथ्र्यो, ज्येष्ठ नागरिक रामकुमार गुरुङ्गले भन्नुभयो, ‘‘अहिले घरै नजिकको टोल टोलमा आएर बाड्न थालेपछि सजिलो भएको छ ।" 

उहाँले भत्ता बुझ्नका लागि बैंकसम्म जान र आउन आफूहरुले धेरै हैरानी खेपेको बताउनुभयो । ज्येष्ठ नागरिकहरुलाई डोकोमा बोकेर गाडीसम्म पुर्याउने दिन अन्त्य भएको उहाँको भनाइ छ, ‘‘बैंकमा गएर लाइन बस्नुपर्दा पनि साह्रै नै गाह्रो हुन्थ्यो, गुरुङ्गले भन्नुभयो, "गाडी भाडा खर्च उस्तै हुने, झण्झट पनि त्यस्तै हुन्थ्यो, आजभोली त बैंकका मान्छेहरु नै टोलटोलमा आएर बाँड्छ कति सजिलो भएको छ कति ।"

गाउँपालिकाले बर्खाको समयमा सामजिका सुरक्षा भत्ता प्राप्त गर्ने ज्येष्ठ नागरिक, असहाय तथा अपांगता भएका व्यक्तिहरु, एकल महिलालगायतका लाभग्राहीलाई वडावडामा पुगेर भत्ता वितरण गर्न सुरु गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुबास आलेले जानकारी दिनुभयो । 

बैंक तथा गाउँपालिकाका कर्मचारीसहितको टोलीले शुक्रबार गाउँपालिकाको वडा नम्बर ५ को लाकुरीबोटमा सामाजिक सुरक्षा भत्ता वितरण गरेको उहाँले बताउनुभयो । गत हप्ता शनिबार बाट सुरु भएर साउन १२ गते शनिबार सम्म वितरण गरिने गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाले वडाभित्र पायक पर्ने स्थानमा केन्द्र बनाएर सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको प्रशासकिय अधिकृत आलेले बताउनुभयो । सामाजिक सुरक्षा भत्ताका लागि असाहय तथा ज्येष्ठ नागरिकहरु बैंकसम्म पुग्न हैरानी खेप्नुपरेको भन्दै गाउँपालिकाले बैंकसँग समन्वय गरी वडा र टोलटोलमा पुगेर सामजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ । यस्ता कामले अशक्त र ज्येष्ठ नागरिहरुलाई निकै नै राहत भएको छ ।