लीलाराज खड्का
बिर्तामोड, साउन ११ गते । पूर्वका चर्चित लोकगायक एलपी जोशीको बिहीबार राति निधन भएको छ । बिहिवार राति ८.३० बजे दमकस्थित लाइफलाइन अस्पतालमा ८८ वर्षको उमेरमा गायक जोशीको उपचारका क्रममा निधन भएको हो ।
दमक –१ निवासी जोशीले ६६ वर्ष अगाडि गाएको ‘रिटिङ रिटिङ नबजाउ बिनायो, वल्लो खोलो पल्लो खोलो’ जस्ता चर्चित लोकगीत गाउनुभएको छ । जुन गीत अहिले पनि कालजयी मानिन्छ ।
एल.पी.जोशीको पूरा नाम लक्ष्मीप्रसाद जोशी हो । जोशी नेपाली लोकगीत क्षेत्रमा पूर्वेली लोकगीतका एक लोकप्रिय गायक कलाकार रहनुभएको थियो । जोशीले आफै सङ्कलन गरेर रेडियो नेपालमा गाएका गीतहरु कालजयी भए ।
उमेरले ४ दशक पार गरे पनि जोशी हालसम्म पनि विभिन्न स्टेज कार्यक्रममा समेत सहभागी रहँदै आउनुभएको थियो । गायनको साथमा नृत्य, चित्रकला, नाटक विधामा समेत पोख्त जोशीले केही चलचित्रमा योगदान गर्नुका साथै एउटा गीति कविता प्रकाशन गर्नुभएको छ ।
उहाँको शुक्रवार बिहान कनकाई माईमा अन्तिम संस्कार गरिएको छ । जोशी लामो समयदेखि सुगर र प्रेसरको बिरामी हुनुहुन्थ्यो ।