• १२ साउन २०८१, शनिबार

‘अभिभावक शिक्षामा जोड दिनुपर्ने’

blog

काठमाडौँ, असार १० गते । प्रतिनिधि सभाको महिला तथा सामाजिक मामिला समितिको बैठकमा सांसद रोशन कार्कीले अभिभावक शिक्षालाई जोड दिनुपर्ने बताउनुभएको छ । उहाँले कतिपय सामुदायिक विद्यालयमा विद्यार्थी नरहेको विषयलाई हेर्नुपर्नेमा जोड दिनुभयो ।

नेपालमा बालबालिकाको शैक्षिक विकासमा संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक सङ्गठन (युनेस्को) ले खेल्दै आएको भूमिकाबारे आज भएको छलफलमा सांसद शान्ति श्रेष्ठले युनेस्कोले शिक्षाको क्षेत्रमा राम्रो भूमिका निर्वाह गरेको बताउनुभयो । उहाँले अभिभावक तथा शिक्षकहरूलाई पनि अनौपचारिक शिक्षाको खाँचो रहेको औँल्याउनुभयो । सांसद सीताकुमारी रानाले भविष्य राम्रो बनाउने हो भने बालबालिकामा लगानी गर्नुपर्ने धारणा राख्नुभयो ।  

युनेस्कोको शिक्षा विभाग प्रमुख ध्रुवराज रेग्मीले युनेस्कोले शिक्षा क्षेत्रमा नेतृत्वदायी भूमिका खेल्दै आइरहेको बताउनुभयो । उहाँले सरकारले औपचारिक शैक्षिक क्षेत्र प्राथमिकतामा राखे पनि अनौपचारिक क्षेत्र छुटाएको बताउनुभयो । उहाँले भन्नुभयो, “अनौपचारिक क्षेत्रलाई छुटाउनुभएन । तथ्याङ्क हेर्ने हो भने साक्षरतामा मुलुकले राम्रो गरिरहेको छ । समयसँगै साक्षरताको परिभाषा फरक बनिसकेको छ । त्यसैले पाठ्यक्रममा परिमार्जन ल्याउन जरुरी देखिन्छ ।” उहाँले युनेस्कोले ‘ग्रिनिङ एजुकेसन’ को अवधारणा ल्याएको जसले जलवायु परिवर्तनको विषयलाई कसरी पाठ्यक्रममा लान सकिन्छ भन्नेमा काम भइरहेको बताउनुभयो ।

युनेस्कोका सञ्चार तथा सूचना अधिकारी निर्जना शर्माले कोभिडका बेला धेरै बालबालिका अनलाइन शिक्षामा जोडिन पुगेको तर अहिले त्यसको नकारात्मक असर देखिरहेको तथ्य उजागर गर्नुभयो । उहाँले भन्नुभयो, “कोभिडका बेला सिकाइको माध्यम नै ‘भर्चुअल’ माध्यम बन्यो तर सही र गलत छुट्याउन नसक्दा धेरै बालबालिका विशेषगरी छात्राहरू अनलाइनबाट दुर्व्यवहार भोगिरहेका छन्, जसले गर्दा मानसिक समस्या बढेको छ ।” उहाँले अनलाइन हिंसालाई कम गर्ने विषय युनेस्कोले प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो । रासस