• ९ वैशाख २०८२, मङ्गलबार

अटेरीहरुको हतियार खोज्दै गुल्मी प्रहरी गाउँगाउँमा

blog

जिल्ला प्रहरी कार्यालय गुल्मीको, तस्विर– तिलाचन पाण्डे

तिलाचन पाण्डे

तम्घास, वैशाख २० गते । जिल्ला प्रशासन कार्यालय गुल्मीले चैत मसान्तसम्म हतियार बुझाउन आग्रह गरे पनि हतियार बुझाउन अटेर गरेपछि गुल्मी प्रहरी हतियार खोज्न अहिले व्यस्त छ ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै प्रशासनले दर्ता भएका हतियारहरुलाई चैत मसान्तसम्म अनिवार्य बुझाउन सूचना जारी गरेको थियो । प्रशासनले जारी गरेको सूचनालाई अटेरी गर्दै हतियार नबुझाएपछि  गुल्मी प्रहरी हतियार खोज्न गाउँगाउँमा लागेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक माधब खरेलले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय गुल्मीमा दर्ता भएका ५२ वटा हातहतियारमध्ये प्रशासनले जारी गरेको सूचनाको अवधिसम्म जम्मा छ वटा मात्र हतियार जम्मा भएका छन् ।

दर्ता भएका हातहतियार बुझाउन अटेर गरेपछि प्रहरी लगाएरै गाउँगाउँबाट हतियार खोज्ने अभियान ल्याइएको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिनुभयो ।

प्रहरीले हतियार खोज्ने अभियान चलाएपछि समयभित्र आएका छ वटा हतियारसहित २९ वटा हतियार जम्मा भएको पौडेलले जानकारी दिनुभयो ।

बाँकी हतियार पनि एक दुई दिनभित्रै जम्मा हुने पौडेलको दाबी छ । जम्मा भएका २९ हतियारमध्ये सबै एकनाले भरुवा बन्दुक रहेको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका हातहतियारमध्ये अधिकांश भरुवा बन्दुक नै रहेको प्रशासनले जनाएको छ ।

हतियार बुझाउन अटेर गर्ने र नबुझाउनेलाई कानुन अनुसारको कारवाही गर्न प्रशासन पछाडि नहट्ने जिल्ला प्रशासन कार्यालय गुल्मीले चेतावनी दिएको छ ।