• १६ भदौ २०८१, आइतबार

एकल महिलाको समस्या समाधान गर्न माग

blog

बुटवल समाचारदाता

बुटवल, वैशाख २० गते । लुम्बिनी प्रदेशका एकल महिलाले आफ्ना समस्यालाई सम्बोधन गर्न स्थानीय तहका उम्मेदवारलाई आह्वान गरेका छन् । स्थानीय तहको निर्वाचनमा एकल महिलाको मत निर्णायक हुने भएकाले आफ्ना समस्यामा ध्यान दिन एकल महिलाले उम्मेदवारको ध्यानाकर्षण गराएका हुन् । 

मानव अधिकारका लागि एकल महिला समूह रुपन्देहीले बुटवलमा आयोजना गरेको स्थानीय निर्वाचन र महिलाहरूको सहभागिता विषयक कार्यक्रममा वक्ताहरूले यस्तो धारणा व्यक्त गर्नुभएको हो । उहाँहरूले एकल महिलाप्रति हेर्ने दृष्टिकोणमा अझै पनि परिवर्तन आउन नसकेको बताउनुभयो । मानव अधिकारका लागि एकल महिला समूह रुपन्देही अध्यक्ष राधिका श्रेष्ठले यो निर्वाचनमा एकल महिलाका मुद्दा सम्बोधन गर्ने प्रतिबद्धता जनाउने उम्मेदवारलाई मतदान गर्ने बताउनुभयो । लुम्बिनी प्रदेशमा एकल महिलाको सङ्ख्या ७३ हजार छ । रुपन्देही जिल्लामा मात्रै १७ हजार एकल महिला छन् । 

उहाँले निर्वाचित जनप्रतिनिधिहरूले एकल महिलाको समस्या सम्बोधनमा खासै चासो नदिएको गुनासो समेत व्यक्त गर्नुभयो । उहाँले स्थानीय निर्वाचनमा एकल महिला सङ्गठित भएर जाने बताउनुभयो । कार्यक्रममा मानव अधिकारका लागि एकल महिला समूहकी प्रदेश अध्यक्ष जानकी अर्याल घिमिरेले एकल महिलालाई राजनीतिक तहको नेतृत्वमा ल्याउनुपर्नेमा जोड दिनुभयो ।उहाँले भन्नुभयो, “त्यसो भए मात्र एकल महिलाको अधिकार सुनिश्चित हुनेछ ।”