• ४ जेठ २०८१, शुक्रबार

कृषि सामग्री वितरण

blog

किसानलाई कृषि सामग्री हस्तान्तरण गरिँदै । तस्बिर : राजु लामिछाने

मुसीकोट समाचारदाता

रुकुम पश्चिम, वैशाख २० गते । कृषि उत्पादन बढाउन रुकुम पश्चिमका किसानलाई कृषि सामग्री वितरण गरिएको छ । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाका २८ जना किसानलाई आधुनिक कृषि सामग्री वितरण गरिएको हो । कृषि विकास कार्यालयको ताजा तरकारी ब्लक कार्यक्रमअन्तर्गत तीनवटा मिनी ट्रिलर, १५ थान प्लास्टिक टनेल, १५ वटा स्प्रे ट्याङ्की, १५ वटा हजारी वितरण गरिएको हो । 

त्यसैगरी २५ वटा स्प्रिङ्कलर, पाँच हजार किलोग्राम प्राङ्गारिक मल, एक हजार पाँच सय किलोग्राम र विभिन्न किसिमका तरकारीको बीउ कृषकलाई वितरण गरिएको सानीभेरी साना किसान सहकारी संस्था लिमिटेडका अध्यक्ष लालवीर ओलीले बताउनुभयो ।

सानीभेरी गाउँपालिकाका उपाध्यक्ष इन्दिरा ओलीले ८ नम्बर वडा कार्यालयमा आयोजित एक कार्यक्रममा किसानलाई उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो । सामग्री हस्तान्तरण गर्नुहुँदै उपाध्यक्ष ओलीले कृषिमा व्यावसायिकता बढाएर र कृषि उत्पादन बढाएर आर्थिक उपार्जन गर्न आधुनिक सामग्री प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । कृषिलाई व्यवसाय उन्मुख बनाउन उत्पादन बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो । 

कृषि विकास कार्यालयले हालसम्म सानीभेरी गाउँपालिका–८ का ३२ घरधुरी किसानलाई कृषि सामग्री उपलब्ध गराएको कार्यालय प्रमुख मीनबहादुर केसीले जानकारी दिनुभयो । उहाँले जिल्लाका अन्य स्थानीय तहमा पनि आधुनिक सामग्री अनुदानमा उपलब्ध गराइएको बताउनुभयो । सानीभेरी साना किसान सहकारी संस्था लिमिटेडको प्राविधिक सहयोग र कृषि विकास कार्यालयको ५० प्रतिशत अनुदानमा वडा कार्यालयबाट कृषि सामग्री वितरण गरिएको हो । सानीभेरीको तल्लो क्षेत्र मुख्य रूपमा खाद्यान्न र तरकारी बालीका लागि प्रख्यात रहेको छ । यहाँको अग्लो भागमा पशुपालन र मौरीपालन हुने गरेको छ ।