• ३ असार २०८१, सोमबार

दुव्र्यसनप्रति सावधानी

blog

“म आज जे छु, मैले हिजो गरेको कर्मको कारणले छु,” स्टेफन कोबे ।एसईई परीक्षा भर्खरै सकिएको छ । परीक्षा दिएर बसेका विद्यार्थीमा उज्ज्वल भविष्यको कामना छ । विद्यार्थी भाइबहिनीको परीक्षामा उच्च अङ्क हासिल होस् भन्ने मेरो चाहना पनि छ । परीक्षा समाप्तिसँगै तपाईंहरू परिवारमा आज एक जिम्मेवार र परिपक्व सदस्यको भूमिकामा उभिने क्रममा हुनुहुन्छ । जीवन रमाइलो छ, प्राज्ञिक जीवनको लामो सङ्घर्षको यात्रामा तपाईं निस्कन लाग्नुभएको छ । ‘बिहानीले दिनलाई दिशानिर्देश गर्छ’ भनेझैँ यस पावन भूमिमा जन्मी, हुर्की, बढी, पढी आज ‘एसईई ग्य्राजुयट’ हुने क्रममा भाइ÷बहिनीहरूलाई आफ्नो भविष्यका र आउने महत्त्वपूर्ण दिनको अर्थ पक्कै थाहा छ ।

अहिलेसम्म तपाईंहरू अभिभावक र साथीको सहयोगमा आफ्नै गतिमा हिँडिरहनुभएको थियो÷छ । भविष्यमा तपाईंको आफ्नै योजना, आकाङ्क्षा, सपना र निश्चित गन्तव्य छन् । सँगसँगै परिवार समाज र देशप्रति समेत तपाईंका केही कर्तव्य र जिम्मेवारी पनि रहनेछन् । “पुरानो कोट लगाऊ र नयाँ पुस्तक किन,” थोरो । थोरोको यस प्रसिद्ध भनाइबाट ज्ञानको भोक जागृत हुन पुग्छ । आमाबुवाले अति परिश्रमका साथ व्यवस्थापन गर्नुभएको खाना, नाना, छाना, औषधिमूलो, विद्यालयलगायतको शुल्क, पुस्तक, हजुरबुवा÷हजुरआमाले सुनाउनुभएको गीत/कथा/कविता र गुरुले खियाउनुभएको तीनवटा औँलाको सार्थकता तपाईंहरूको उज्ज्वल भविष्यको मार्गनिर्देशक सिद्धान्त हो । राष्ट्र निर्माणमा तपाईंहरूबाट भविष्यमा हुँदै जाने योगदानबाट मात्रै त्यसले सार्थकता पाउँछ । 

आज म तपाईंहरूसमक्ष एक सचेत नागरिक र जिम्मेवार प्रहरी अधिकारीको हैसियतले केही कुरा राख्न चाहन्छु । तपाईंहरूबाट यसमा सकारात्मक पहल हुने विश्वास पनि छ । तपाईंहरूलाई थाहा नै होला, लागूऔषधको अवैध ओसारपसार र दुव्र्यसनले आज हाम्रो घर, परिवार, समाज र देशलाई मात्र नभएर पूरै विश्व नै नराम्रोसँग गाँजिरहेको छ । सामान्यतया तपाईंहरूको उमेर (१३ वर्षदेखि १९ वर्षसम्म)का युवा तथा ऊर्जावान् दाजुभाइ÷दिदीबहिनी लागूपदार्थको कुलतमा डुबेर आफ्नो जीवनलाई कष्ट‍कर बनाइरहेका छन् । 

तपाईं–हामी सबैले बुझ्ने भाषामा भन्दा लागूपदार्थको दुव्र्यसन भनेको चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह वा परामर्शबिना आफूखुसी औषधि प्रयोग गर्ने तथा कानुनले लागूऔषध भनी परिभाषित गरी निषेध गरेको पदार्थको प्रयोग गर्ने कार्य वा प्रवृत्ति हो । कुनै व्यक्तिलाई सधैँभरि लागूऔषध सेवन गरिरहनुपर्ने अवस्थाको सिर्जना हुनु र सेवन गर्ने व्यक्तिको मानसिक र शारीरिक अवस्थामा परिवर्तन आउने कार्य नै दुव्र्यसन हो । तसर्थ, लागूऔषध कसैले पनि प्रयोग नगरौँ । प्रयोग गर्ने गरेको भए आजकै दिनबाट बन्द गरौँ । लागूऔषधको उत्पादन, ओसार–पसार, भण्डारण, खरिद–बिक्री तथा सेवनजन्य कार्य दण्डनीय अपराध (पन्ध्र वर्षदेखि जन्मकैदसम्म र पाँच लाखदेखि २५ लाख रुपियाँसम्म जरिवाना) हुने भएकाले यस्ता कार्य कसैले पनि नगरौँ । लागूऔषध दुव्र्यसनका कारणले मानिसको अकालमा ज्यान जान सक्छ, परिवार तहस–नहस हुन सक्छ, त्यसैले यसबाट हामी सधैँ टाढै रहौँ । आफन्तजन, मित्रजनलगायत स्वजनहरूको सदैव हित हुने कार्यमा आफू र आफन्तलाई अहोरात्र सहयोग गरौँ । साथीहरूको देखासिकी, नक्कल गर्ने तथा फेसनका रूपमा लागूऔषधको प्रयोग कहिल्यै नगरौँ । कानुनले प्रतिबन्ध लगाएका अवैध औषधि (लागूऔषध)को प्रयोगलाई निरुत्साहित गरौँ ।

जिल्ला प्रहरी परिसर काठमाडांैको आ.व. २०७८/०७९ को साउनदेखि चैत ९ सम्मको अभिलेख हेर्दा लागूऔषधसम्बन्धी कसुरका २६८ मुद्दा दर्ता गरिएको, ३७८ जना पक्राउमा परेका तथा डाइजेपाम–११ ह्जार ३६३ एम्पुल, फेनारगन–१२ हजार ४०६ एम्पुल, नुर्फिन–१० हजार ९४० एम्पुल, नाइट्राभेट ट्याब्लेट–३२ हजार ६९, गाँजा–६६ केजी, चरेस १३ केजी, खैरो हिरोइन–२३४ ग्रामलगायत विभिन्न प्रकारका लागूऔषध बरामद गरिएको पाइन्छ ।

व्यक्तिगत समस्याबाट टाढा रहन तथा तनाव कम गर्न लागूऔषधको सहारा कहिले पनि नखोजौँ । यो गलत हो । साथीभाइको करकाप, पारिवारिक समस्या तथा पढाइमा असफलताका कारणबाट लागूऔषधको प्रयोग भुलेर पनि नगरौँ । सामान्य व्यक्तिलाई भन्दा लागूऔषधको प्रयोग गर्ने व्यक्तिमा फोक्सोको क्यान्सर, स्नायु ग्रन्थीसम्बन्धी समस्या, मुटुसम्बन्धी रोग, कुपोषण, महिलालाई महिनावारीमा समस्या तथा विभिन्न श्वासप्रश्‍वाससम्बन्धी रोग लाग्ने सम्भावना बढी हुने भन्ने विभिन्न जर्नलमा प्रकाशित लेखले यो कति भयावह छ भन्ने स्पष्ट पार्छन् । 

तसर्थ, सामाजिक सञ्जाललगायतका पेज र वेबसाइटहरू प्रयोग गर्दासमेत ध्यान पु-याउनु हुन तथा आफ्ना साथीलाई छेडखानी गर्ने, हैरानी दिने, अरूको गोपनीयता भङ्ग गरिदिने, सोसल साइट ह्याक गरिदिने, अनधिकृत तवरले अरूको वेबसाइटलाई ह्याक गर्ने, विभिन्न प्रकारका अनलाइन गेममा संलग्न भई आफू र आफन्तजनको समयलाई नष्ट गर्ने, धनसम्पत्तिको बर्बादी गर्ने जस्ता कार्यबाट टाढै रहौँ । साइबर अपराधको कसुरमा संलग्नउपर पाँच वर्षसम्म कैद र दुई लाखसम्म जरिवाना हुने प्रावधान रहेकाले आफू जोगिई अरूलाई जोगाउनु बुद्धिमत्तापूर्ण हुनेछ । जसरी अलि–अलि पौडन सिकेको पौडीबाजले सावधानीपूर्वक मात्रै नदी र समुद्रमा पौडनु उचित हुन्छ, त्यसरी नै तपाईंहरूले सामाजिक सञ्जाल आदिको प्रयोग गर्दासमेत हरहमेसा सावधानीपूर्वक समाजको बृहत्तर हितमा कार्य गर्नु हुनेछ । 

मातृ देवो भव ! पितृ देवो भव !! गुरु देवो भव !!! को आदर्श वाक्यलाई हृदयङ्गम गरी सम्पूर्ण विद्यार्थी भाइबहिनीले जसरी माता, पिता र गुरुको आदर–सम्मान गरी आफ्नो भविष्यलाई उज्ज्वल बनाउनेतर्फ आफ्नो बालपनलाई खर्चिनुभएको छ, त्यसरी नै आउने दिनमा समेत उपर्युक्त आदर्श वाक्यको मर्मलाई आत्मसात् गरी सुनौलो भविष्य कोर्न म विशेष आग्रह गर्दछु । जसरी नङ र मासुको सम्बन्ध प्रगाढ छ, त्यसरी नै जनता र प्रहरीबीचको सम्बन्ध रहेको हुन्छ । समुदाय–प्रहरी साझेदारीअन्तर्गत प्रहरी, समुदाय, स्थानीय तह, विद्यालय, सङ्घसंस्था, सञ्चार जगत् मिली समाजमा अपराध न्यूनीकरण गर्दै अपराधमुक्त समाज बनाउन अहोरात्र खटिनुपर्नेछ ।

यस महान् कार्यमा हामी सबै जनाले मन, वचन र कर्मले सक्दो प्रयास गरौँ । तपार्इंहरूले पनि गाउँ–गाउँ अनि टोल–टोलमा, सहरमा अनि नेपाल राष्ट्रको सम्पूर्ण भू–भागमा ‘लागूऔषध त्यागौँ, स्वस्थ, सबल, समृद्ध र समुन्नत समाजको निर्माण गरौँ’ र ‘लागूऔषधको गरे प्रयोग, सकिनेछ जीवनको उपयोग’ जस्ता सन्देश प्रचार–प्रसार गरी पशुपतिनाथ, स्वयम्भूनाथ, बौद्धनाथ, माता जानकी, गौतम बुद्ध, अंशुबर्मा, भृकुटी र सगरमाथाको यस पवित्र भूमिबाट लागूऔषधविरुद्धको महाअभियानमा आफू र आफ्नो परिवारसहित महŒवपूर्ण योगदान गर्नु हुनेछ भन्ने विश्वास छ । 

परिश्रमको फल अवश्य मीठो हुनेछ । प्रहरीको तालिममा भन्ने गरिन्छ– ‘तालिममा पसिना बगाउने व्यक्तिले कर्म क्षेत्रमा रगत जोगाउँछ ।’ विश्वबाट क्रमशः विलुप्त हुँदै गरेको कोरोनाको कहरबीच तपाईंहरूको माता, पिता र गुरुहरूको अथक परिश्रम, दुई वर्षको विरामपश्चात् भर्खरै एसईई परीक्षा सफलतापूर्वक सम्पन्न गर्नुभएको छ । त्यसले अवश्य सफलता हात लाग्नेछ । तपाईंहरूबाट देशले मागेको र खोजेको समयमा हरसम्भव यथोचित योगदान हुनेमा पङ्क्तिकार पूर्ण विश्वस्त छ ।



Author

दिनेशराज मैनाली