• १३ साउन २०८१, आइतबार

रारा ताल क्षेत्रमा खुला चरिचरन प्रमुख चुनौती

blog

रारा ताल क्षेत्रको खुला चरिचरन । तस्बिर : हरिकृष्ण ऐडी

मुगु समाचारदाता

मुगु, साउन ५ गते । रामसार क्षेत्रमा पर्ने रारा ताल क्षेत्रमा खुला चरिचरनले राराको सुन्दरता हराउँदै गएको छ । रारा ताल क्षेत्रमा पशुचौपायाले भरिभराउ छ । पशुवस्तुको चरिचरनले ताल क्षेत्रको हरियाली, भर्खरै पलाउन लागेका फूल खाएर पूरै सखाप पारेका छन् । जसले गर्दा ताल वरिपरिको सुन्दरता हराउँदै गएको आभास हुन थालेको छ ।

स्थानीय  विनोदकुमार मल्लका अनुसार रारा ताल वरिपरि यो मौसममा सयौँ पशुचौपाया चर्नका लागि भरिभराउ छन् । ताल आसपासमा पलाउन लागेका हरियो घाँसलगायत विभिन्न प्रजातिका फूल पशुवस्तुले खाएर, कुल्चेर उजाड बनाएका छन् । वैशाखको अन्तिमबाटै रारा आसपासमा विस्तारै हरियाली छाउँदै तालको सुन्दरतामा थप आकर्षण थपिने गरेको थियो तर विगतका केही वर्षयता खुला चरिचरन र छाडा पशुचौपायाका कारणले सुन्दरताको बाधक बन्दै आएको मल्लले बताउनुभयो ।

छाडा पशुचौपायाको मलमूत्र र दिसापिसाबले रारा तालमा पाइने विश्वमै दुर्लभ असला माछा र अन्य जलचरको प्रजनन र स्वास्थ्यमा समेत समस्या हुने गरेको छ । रारा राष्ट्रिय निकुञ्ज कार्यालयका निमित्त प्रमुख  संरक्षक अधिकृत राजु घिमिरेका अनुसार अहिलेको मुख्य समस्या नै यही खुला चरिचरन र छाडा चौपायाका कारणले तालको सौन्दर्यलाई ह्रास बनाएको छ । यस विषयमा सरोकारवाला र स्थानीयसँग छलफल गरी व्यवस्थापन गरिने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “निकुञ्ज क्षेत्रमा पशुचौपाया छाडा छोड्न नमिल्ने हो । तोकिएको ठाउँमा पुर्जी काटेर मात्रै चरिचरन गर्ने निर्देशिका भए पनि पूरै छाडा पशुचौपायाले ताल वरिपरि पलाउन थालेको घांँस तथा विभिन्न प्रजातिका फूल खाएर नष्ट भएका छन् ।” 

हिमाली राष्ट्रिय निकुञ्ज नियमावली, २०३६ मा मध्यवर्ती क्षेत्र वरिपरिका उपभोक्ताले तोकिएको ठाउँमा चरिचरन उपयोग गर्न पाउने व्यवस्था भए पनि अत्यधिक छाडा पशुचौपाया नियन्त्रण र व्यवस्थापनमा संरक्षण गर्न खटिएका रारा राष्ट्रिय निकुञ्जका कर्मचारी, नेपाली सेना र मध्यवर्ती समिति एकाइ उदासीन हुँदै आएका छन् । राष्ट्रिय निकुञ्जभित्र चरिचरन गर्नलाई पशुचौपाया प्रवेश गराउँदा शुल्क तिरी पुर्जी काटेर मात्रै प्रवेश गराउन मिल्ने व्यवस्था रहेको छ । जसमा भेडा प्रतिवटाको १० रुपियाँ, भैँसी ५०, घोडा ९५ रुपियाँ तिर्नुपर्ने व्यवस्था भएको रारा राष्ट्रिय निकुञ्ज कार्यालय मुगुका सूचना अधिकारी जयहरि धितालले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “अब तालभित्र प्रवेश गर्ने चार वटा प्रवेशद्वारमा कडिकडाउ गर्ने, हरेक पशुवस्तुलाई बाहिर धपाउने, थुन्ने खोरको व्यवस्था गर्ने, पशु पहिचान गरी मालिकलाई दण्ड जरिबाना गराइने भएको छ ।” उहाँका अनुसार त्यसका लागि स्थानीयलाई सचेतना जोगाउने र मध्यवर्तीका समुदायसँंग समन्वय गर्ने जस्ता उपाय अपनाएर छाडा तथा खुला चरिचरनको दीर्घकालीन समाधान गर्ने उद्देश्य राखिएको छ ।