• ४ साउन २०८१, शुक्रबार

खेलकुद क्षेत्रकाे विकासमा मिलेर काम गर्ने

blog

नवनियुक्त युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी

काठमाडौं, साउन ३ गते । नवनियुक्त युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले टिम भावनका साथ अगाडि बढ्ने बताउनु भएको छ । 

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का अध्यक्ष समेत रहनु भएका खेलकुद मन्त्री चौधरीले उहाँको सम्मानमा राखेपले बिहीबार आयोजना गरेको स्वागत तथा बधाइ कार्यक्रम यस्तो विचार राख्नु भएको हो । 

‘‘म मन्त्री भएको केही दिन मात्र भएको छ । छोटो अवधिमा पनि मैले खेलकुदलाई कसरी विकास गर्न सकिन्छ । योजनालाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा राखेपका सदस्य–सचिव र सरोकारवालासँग बिहानदेखि बेलुकीसम्म छलफल गरिरहेको छु ।’’ 

मन्त्री चौधरीले भन्नु भयो, ‘‘खेलकुदलाई विकासको बाटोमा डोर्‍याउन सरोकारवालासँग एक टिम भएर अगाडि बढ्न तयार छु ।’’

मन्त्री चौधरीले वर्तमान सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले ३ सय दिनमा कीर्तिपुर क्रिकेट मैदानमा आवश्यक पूर्वाधार तयार गर्ने गरेको निर्णयका सम्बन्धमा सदस्य–सचिवसँग छलफल भइरहेको छ भन्नुभयो ।

मन्त्री चौधरीले १० औं राष्ट्रिय खेलकुदलगायत अन्य विषयमा चाँडै बोर्ड बैठक बसेर टुंग्याउने बताउँदै उहाँले नेपाली खेलाडी मेहनती, लगनशील र संघर्ष गर्न सक्ने भएको बताउँदै छोटो तयारीबाट खेलाडीबाट ठूलो अपेक्षा गर्न नसकिने बताउनु भयो । 

राखेपका उपाध्यक्ष शिव कोइरालाले मन्त्रीको लक्ष्यलाई पूरा गर्न राखेप टिम सहयात्री बनेर काम गर्न तयार रहेको जानकारी दिनुभयो । 

उहाँले राखेपका योजनाहरुलाई कार्यान्वयन गर्न बोर्ड बैठक अनिवार्य भएको बताउँदै आफ्नो कार्यकालको अन्तिम दिन (यही साउन १४ गते) सम्ममा बोर्ड बैठकमा सहभागी हुन पाउने विश्वास व्यक्त गर्नुभयो । 


राखेपका सदस्य–सचिव टंकलाल घिसिङले खेलकुदलाई गहिराइमा बुझेको नेतृत्व पाएकोमा खुशी व्यक्त गर्नुभयो । 

सदस्य–सचिव घिसिङले पेरिस ओलम्पिकसँगै १० औं राष्ट्रिय खेलकुदको तयारीमा जुटेको उल्लेख गर्दै बिहीबारै सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा सदस्य–सचिव घिसिङले खेलकुद गर्नुभएको थियो ।