• १ साउन २०८१, मङ्गलबार

ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधन नियन्त्रणमा

blog

मोहर्रमको बेला ट्राफिक नियम उलङ्घन गर्ने सवारीसाधनहरु प्रहरी नियन्त्रणमा । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, साउन १ गते । मुस्लिम समुदायको मोहर्रम पर्वमा नेपालगन्ज र सो वरिपरिको सुरक्षा व्यवस्था कडा पारिएको छ । पर्वमा सुरक्षा कडा बनाउन विशेष सुरक्षा योजना बनाइएको तथा ट्राफिक नियम उल्लङ्घन गरी मोटरसाइकल र स्कुटर चलाउनेहरूमाथि कडा निगरानी गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले बताउनुभयो । 

उहाँले चाडपर्वको समयमा उच्छृङ्खल व्यवहार नगर्न र घरेलु हतियार लिएर नहिँड्न सार्वजनिक अनुरोध गरिनुका साथै हेलमेट नलगाउने र होहल्ला गरी मोटरसाइकल र स्कुटर चलाउनेहरू विरुद्ध विशेष अभियान चलाइएको बताउनुभयो । सोही अभियान अन्तर्गत अहिले नेपालगन्जमा जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले मोटरसाइकल र स्कुटर चलाउनेहरूमाथि कडा निगरानी गरिरहेको छ । 

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी तुल बहादुर कार्कीले शान्ति सुरक्षाका लागि मोटरसाइकल र स्कुटरमाथि विशेष निगरानी गरेर ट्राफिक नियमको पालना गराइएको बताउनुभयो । उहाँले मोहर्रम पर्वलाई लक्षित गरी ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको र त्योसँगै ड्रोन क्यामेरामार्फत् निगरानी भइरहेको बताउनुभयो । 

गत तीन दिनको समयमा राती र दिनमा गरेर बढी सवारी बोक्ने, हेलमेट नलगाउने र होहल्ला गरी मोटरसाइकल चलाउने १२३ जनालाई रोकेर १२३ वटा मोटरसाइकल र स्कुटर नियन्त्रणमा लिएर होल्ड गरिएको वडा प्रहरी कार्यालय नेपालगन्जले जनाएको छ । सो कार्यालयका अनुसार बुधवार मोहर्रम पर्व समापन भइसकेपछि आवश्यक जरिवाना लिएर ती सवारी साधनलाई फिर्ता गरिने छ । 

मोहर्रम पर्व चलिरहेकै बेला नेपालगन्ज ११ ताँगा स्ट्यान्ड नजिक मोटरसाइकल र स्कुटरमा आएका व्यक्तिले धारिलो हतियारको प्रयोग गरेर एकजना युवकको हत्या गरेपछि प्रहरी प्रशासनले मोटरसाइकल र स्कुटरमा विशेष निगरानी बढाउनुका साथै घरेलु हतियार नबोक्न सूचना निकालेको हो ।  

जिल्ला प्रशासन कार्यालय बाँकेले एक सूचना प्रकाशित गरेर मोहर्रम पर्वकोबेला कसैले पनि उच्छृङ्खल व्यवहार गरेको, बिना काम राती हिँडेको, रड लगायतका घातक घरेलु हतियार लिएको र मोटरसाइकल तीव्र गतिमा तथा नियम विपरीत चलाएको पाइएमा कानुनी कारबाही गर्ने चेतावनी दिएको थियो।