• १२ साउन २०८१, शनिबार

मधेशमा ६१ प्रतिशत रोपाइँ

blog

धीरेन्द्रप्रसाद साह

जनकपुर, असार ३१ गते । मधेश प्रदेशमा यस वर्ष ६१ प्रतिशत खेतमा धान रोपाइँ भएको छ । मधेश प्रदेशमा कूल पाँच लाख ७४ हजार ३६० हेक्टर खेतीयोग्य जग्गा छन् । जसमध्ये तीन लाख ८६ हजार १५० हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ भएको छ ।

प्रदेशभरिमा दुई लाख ३५ हजार ४७४ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भइसकेको छ । अर्थात् ६० दशमलव ९८ प्रतिशत हेक्टर क्षेत्रफल जग्गामा धान रोपाइँ सम्पन्न भएको हो। 

मधेश प्रदेशका आठ जिल्लाहरूमध्ये सबभन्दा कम महोत्तरीमा ४० प्रतिशत क्षेत्रफलमा मात्र धान रोपाइँ भएको छ । यस जिल्लामा ६७ हजार ३५२ हेक्टर जग्गा खेतीयोग्य रहेकोमा ४४ हजार १५० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको छ । अहिलेसम्ममा १७ हजार ६६० हेक्टर खेतीयोग्य जग्गामा मात्र धान रोपाइँ भएको कृषि विकास निर्देशनालय नक्टाझिज धनुषाले जनाएको छ । 

त्यस्तै, कम रोपाइँ भएको दोस्रो सिरहा जिल्ला हो । यहाँ ७३ हजार ९१४ हेक्टर खेतीयोग्य जग्गामध्ये ५४ हजार हेक्टर क्षेत्रफल जग्गामा धान रोपाइँ भइरहेको छ । अहिलेसम्ममा २४ हजार तीन सय हेक्टर अर्थात् ४५ प्रतिशत जग्गामा मात्र धान रोपाइँ भएको निर्देशनालयका योजना शाखाका प्रतिभाकुमारी यादवले बताउनुभयो । 

मधेश प्रदेशको पर्सा, सर्लाही, सप्तरी र बारामा ७० प्रतिशत खेतमा धान रोपाइँ भइसकेको छ । पर्सामा ५४ हजार ७३२ हेक्टर खेतीयोग्यमध्ये ४७ हजार १३० हेक्टर क्षेत्रफल जग्गामा धान रोपाइँ भइरहेकोमा अहिलेसम्म ३२ हजार ९९१ हेक्टर क्षेत्रफल जग्गामा धान रोपाइँ सम्पन्न भएको मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । मन्त्रालयको अनुसार सर्लाहीमा ८४ हजार ६७८ हेक्टर खेतीयोग्यमध्ये ४६ हजार हेक्टरमा धान रोपाइँ भइरहेको छ । हालसम्म ३२ हजार दुई सय हेक्टर क्षेत्रफल जग्गामा धान रोपाइँ भइसकेको छ । 

यस्तै, सप्तरीमा कूल ८१ हजार ६६८ हेक्टर खेतीयोग्य जग्गामध्ये ६८ हजार हेक्टरमा धान रोपाइँ भइरहेकोमा यस वर्ष अहिलेसम्ममा ४७ हजार छ सय हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ । यसैगरी, बारामा ६९ हजार ५१६ हेक्टर खेतीयोग्य जग्गा रहेकोमा ४६ हजार २० हेक्टरमा मात्र धान खेती भइरहेको छ । यहाँ ३२ हजार २१४ हेक्टर क्षेत्रफल जग्गामा धान रोपाइँ भइसकेको मन्त्रालयले जनाएको छ ।

प्रदेशको रौतहट र धनुषा जिल्लामा ६० प्रतिशत खेतमा धान रोपाइँ भइसकेको छ । रौतहटमा जम्मा ६५ हजार ९६९ हेक्टर खेतीयोग्य जग्गा छन् । यहाँ ३८ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेकोमा अहिलेसम्म २२ हजार आठ सय हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको मन्त्रालयका प्रवक्ता रोशन मेहताले जानकारी दिनुभयो । उहाँका अनुसार ७६ हजार ५३१ हेक्टर खेतीयोग्य जग्गा रहेको धनुषा जिल्लामा ४२ हजार ८५० हेक्टर क्षेत्रफलमा धान रोपाइँ भइरहेकोमा हालसम्म २५ हजार ७१० हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ । 

यस वर्ष समयमै पानी परेकोले आकासे पानीबाट धान रोपाइँ गरेको प्रवक्ता मेहताले प्रदेशमा आकासे पानीसँगै स्यालो ट्युबवेल, बागमती सिँचाइ, चन्द्र नहर लगायतबाट सिँचाइ गरेर पनि धान रोपाइँ गरिने गरिएको बताउनुभयो ।